१४ पुस, धनकुटा । साहित्यकार झमक घिमिरे यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छिन् । प्रगतिशील लेखक संघ (प्रलेस) केन्द्रीय समितिबाट प्रदान गरिने उक्त पुरस्कार आइतवार झमक निवास धनकुटा ६ कचिंडेमा वितरण गरिएको हो ।
प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष नमुना शर्मा तथा महाचिव डा.देवी क्षेत्री दुलाल लगायतले उक्त पुरस्कार प्रदान गरेका थिए । घिमिरेलाई २० हजार १ सय नगद सहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । गत असोजमा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रलेस केन्द्रीय अध्यक्ष डा.मधुसूदन गिरीको उपस्थितिमा उक्त पुरस्कारको घोषणा गरिएको थियो । प्रगतिशील वाङ्मयको उन्नयनमा उच्च योगदान पुर्याएका व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिने प्रलेस केन्द्रीय समितिका उपाध्यक्ष शर्माले बताइन् । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, धनकुटा नगरपालिकाका उपप्रमुख भिमा खनाल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले पुरस्कृत व्यक्तित्व घिमिरेबारे धारणा राखेका थिए । शारिरिक अशक्तताका कारण घिमिरेले गोडाको औंलाको सहायतामा कलम चलाएर साहित्य सृजना गर्दै दर्जनौ कृति प्रकाशित छन् ।
घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भइ उपचारका क्रममा रहेकी छिन् । घिमिरेले ‘जीवन का“डाकी फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गरेकी थिइन् । यसैबिच प्रलेस धनकुटाको आयोजनामा नेपाल पत्रकार महासंघको सभाहलमा समसामयिक सवालमा अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।