धनकुटा । धनकुटा नगरपालिकामा आयोजित “एभोकोडो तथा स्थानीय उत्पादन प्रदर्शनी २०८१“ कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ । एभोकाडो तथा स्थानीय रैथाने कृषि उपज उत्पादन र प्रबर्द्धनका लागि धनकुटा नगरपालिकाले प्रदर्शनीको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री निरन राईले गरे ।
उनले स्थानीय उत्पादनको प्रवर्द्धन र कृषि व्यवसायको विकासमा यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताएका छन्। उद्घाटन समारोहमा जिल्ला समन्वय प्रमुख निरेन तामाङले स्थानीय उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनका लागि सहकार्य र प्रयास आवश्यक रहेकोमा जोड दिए ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले स्थानीय उत्पादन प्रदर्शनीले किसान र उद्यमीहरूलाई आफ्नो उत्पादनको प्रचार–प्रसार गर्ने राम्रो अवसर प्रदान गर्ने बताए। उनले धनकुटामा उत्पादन हुने एभोकोडो जस्ता कृषि उत्पादनहरूको गुणस्तर सुधार र बजार विस्तारका लागि दीर्घकालीन योजना आवश्यक रहेको औंल्याए । कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख चिन्तन तामाङले नगरको उद्यमीहरुलाई व्यवसायीक बनाउदै उनीहरुको उत्पादनलाई बजारीकरणमा नगरले सहयोग गर्ने बताएका छन ।
कृषि उपज उत्पादन र बजारीकरणमा सहयोग पु¥याउन प्रदर्शनीको आयोजना गरिएको समेत उनले जानकारी दिए । प्रदर्शनीमा एभोकाडो फल, त्यसका सह–उत्पादनको बिक्रि र खेति प्रविधिका बारेमा जानकारी गराइयो । प्रदर्शनीमा दूग्द्य उत्पादन, तरकारी, कोदो, मकै, जुनेलो, फापर, कागुनो जस्ता लोपहुन लागेका रैथाने बालीका एक दर्जन स्टल राखिएको थियो । प्रदर्शनीमा उपज उत्पादक, लगानीकर्ता, ब्यबशायि, कृषि विज्ञहरुबीच अन्तक्रिया र उद्यमशिलता प्रवर्द्धन सम्बन्धी परामर्श कार्यक्रम संचालन गरिएको छ ।
६ बर्ष अघि एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटा नगरपालिकाले बिगतबर्षमा एभोकाडो महोत्सव गर्दै आएको थियो । यो बर्ष भने प्रदर्शनीमा स्थानीय रैथाने बाली र उत्पादन समेत समाबेश गरिएको छ । । कार्यक्रममा स्थानीय कृषक, उद्यमी, र विभिन्न समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। यस प्रदर्शनीले धनकुटा जिल्लाको कृषि र उद्यमशीलतालाई थप प्रेरणा दिने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको प्रोत्साहनका लागि यस्ता कार्यक्रमहरूले नयाँ सम्भावना खोल्न सक्ने सहभागीहरूको धारणा थियो।