सांगीतिक क्षेत्रमा तहल्का मञ्चाएको ‘मन्त्र ब्याण्ड‘ धनकुटाको हिलेमा आफ्नो धमाकेदार प्रस्तुती दिएको छ । हिले ब्याडमिन्टन क्लवले शुभदिपावलीको अबसरमा बर्षेनी आयोजना गर्ने सांगीतिक कार्यक्रममा यो बर्ष आफ्नो प्रस्तुती दिन हिले आएको मन्त्रले धनकुटेली दर्शकको मन जितेको हो ।
बुधबार साँझबाट सुरु भएको कार्यक्रममा स्थानीय स्न्याब, द चिसिहेड, कवज र कल्चर ब्याण्डले आफ्नो प्रस्तुति सुरु गरेका थिए । उनीहरुको प्रस्तुतीले युवालाई आकर्षित गरिरहेको थियो । स्थानीय तोङ्वा चौक वरीपरी युवा पुस्ता बिभिन्न ब्याण्डको गित संगै झुमिरहेका थिए । रात छिपीदै जादा तोङ्वा चौकमा खुट्टा टेक्ने ठाँउ समेत थिएन । हिलको चिसोको कुनै प्रवाह नगरी हजारौको संख्यामा धनकुटेली हिलेमा जम्मा भइसकेका थिए ।
जब स्टेजमा मन्त्र ब्याण्डको प्रवेश भयो तब दर्शक तर्फवाट एक्कासी ‘सधै सधै आइरहन्छ‘ को हुटिङ गुन्जन थाल्यो । ब्याण्डका भोकलिष्ट भाष्कर देवानले दर्शकलाई साथ दिन आग्रह गर्दै आफ्नो प्रस्तुती सुरु गरे । एकाएक माहोल उर्लियो । मध्य रातको चिसो मौसममा पनि दर्शकलाई चिसोकौ कुनै प्रवाह थिएन । चिसो हिले मध्यरातमा तातेको थियो । सबै सँधै, बिर गोर्खाली, समय निलो आकास, हामि नेपाली, आकासैमा लगायत एक दर्जन गित प्रस्तुत गरेका थिए ।
करीब दुइ घण्टा सम्म अर्थात मध्यरात सम्म प्रस्तुती दिइरहदा दर्शकले साथ दिइरहे । आधा दर्जन मात्र गित गाँउन स्टेज छिरेको ब्याण्ड दर्शकको मागका कारण एक दर्जन गित गाँउन बाध्य भएको थियो । दर्शकलाई मन्तर लगाए झै लठ्ठ बनाएको थियो । हिले ब्याडमिन्टन क्लबले प्रत्येक बर्ष राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ स्वरुप तिहारमा क्लवले प्रत्येक बर्ष सांगितिक कार्यक्रम गराउदै आएको क्लवका अध्यक्ष आषिश गोङ्वाले जानकारी दिए । हिलेमा अघिल्ला वर्षका कार्यक्रमहरुमा राजु लामा प्रमोद खरेल जस्ता लोकप्रिय कलाकारले आफ्नो प्रस्तुती दिइसकेका छन् । खेल क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय क्लवले कार्यक्रमवाट उठेको रकमले बजार क्षेत्रमा सडक बत्ति, सिसि क्यामेरा जडान, रक्तदान, आर्थिक अबस्था कमजोर भएका ब्याक्तिलाई उपचारको लागि सहयोग लगायतको कार्य गर्दै आएको छ ।