
विदुर खवास
- राम्रो जागिर छाडेर गाउँमा उद्यम: खाद्य प्रविधि विज्ञ रोशन राईले बहुराष्ट्रिय कम्पनीको आकर्षक जागिर छाडेर धनकुटामा ‘आनीको खाद्य उद्योग’ स्थापना गर्दै कोदो, फापरलगायत रैथाने अन्नको प्रशोधन र बजारीकरण सुरु गरेका छन्।
- किसान र रैथाने उत्पादन संरक्षण अभियान: उद्योग सञ्चालनसँगै उनले किसानलाई परम्परागत बाली उत्पादन गर्न प्रेरित गर्दै अग्रिम खरिदको व्यवस्था गरेका छन्। ‘चासुम’ ब्रान्डमार्फत शुद्ध स्थानीय खाद्यवस्तु बजारमा पुर्याएर स्वस्थ खानाको संस्कृतिलाई प्रवर्द्धन गरिरहेका छन्।
- सरकार–किसान–उद्यमी सहकार्यको आवश्यकता: वार्षिक करिब ३० लाख रुपैयाँ कारोबार गरिरहेको उद्योगलाई दिगो बनाउन प्रविधिमैत्री खेती, प्रशोधन उद्योगमा प्रोत्साहन र प्रभावकारी बजार व्यवस्थापनका लागि सरकारी सहयोग आवश्यक रहेको राईको भनाइ छ।
१ साउन, धनकुटा । एक समय उनी बहुराष्ट्रिय कम्पनीमा खाद्य प्रविधि विज्ञका रूपमा आकर्षक तलब र सुविधासहितको जागिरमा थिए । करियर सुरक्षित थियो, भविष्य पनि उज्यालो देखिन्थ्यो । तर रोशन राईले त्यो बाटो छाडे । कारण थियो—आफ्नै गाउँको माटो, हराउँदै गएको रैथाने अन्न र त्यसलाई पुनः जनजीवनमा फर्काउने सपना।
अहिले धनकुटा नगरपालिका–६ अमलेटारस्थित औद्योगिक ग्राममा सञ्चालित ‘आनीको खाद्य उद्योग’ मार्फत उनले कोदो, फापर, मकै, स्थानीय दाल–गेडागुडी लगायत रैथाने उत्पादनलाई प्रशोधन गरेर ‘चासुम’ ब्रान्डमा बजारसम्म पु¥याइरहेका छन्। तर उनको यात्रा उद्योग सञ्चालनमा मात्र सीमित छैन। उनी किसानलाई उत्पादन गराउन, उत्पादन खरिद सुनिश्चित गर्न र उपभोक्तालाई शुद्ध स्थानीय खाना खान प्रेरित गर्न समान रूपमा सक्रिय छन्।
२०७९ सालमा उद्योग दर्ता गरेर २०८० देखि उत्पादन बजारमा ल्याउन थालेका राई लामो समय पतञ्जली र डाबर नेपालजस्ता कम्पनीमा खाद्य प्रविधिको क्षेत्रमा कार्यरत थिए । अन्तर्राष्ट्रिय कोदो वर्ष–२०२३ ले उनलाई आफ्नै ठाउँमा केही गर्ने प्रेरणा दियो। धनकुटाको छिन्ताङमा जन्मिएका राई भन्छन्, “हाम्रो गाउँ पहिला कोदो र फापर उत्पादनका लागि परिचित थियो। तर अहिले त्यही खेती घट्दै गएको देखेपछि जागिरभन्दा गाउँको सम्भावना रोजेँ।“

उद्योग खोल्दा कच्चा पदार्थ नै भेटिएन
राईले उद्योग स्थापना गर्दा सबैभन्दा ठूलो चुनौती बजार होइन, कच्चा पदार्थको अभाव बन्यो। जुन कोदो र फापरको सम्भावना देखेर उद्योग सुरु गरेका थिए, त्यही अन्न किसानले उत्पादन गर्न छाडेका थिए।
त्यसपछि उनी उद्योगी भन्दा बढी अभियानकर्मी बने। धनकुटासँगै तेह्रथुम, भोजपुर र सास.खुवासभाका गाउँ–गाउँ पुगेर किसानलाई कोदो, फापर, कागुनो, बोडी, सिमी लगायत परम्परागत बाली पुनः लगाउन प्रेरित गर्न थाले। आगामी वर्षको उत्पादन अहिले नै खरिद गर्ने सम्झौता गरेर किसानलाई बजारको सुनिश्चितता दिने अभ्यास पनि थालेका छन्। उनका अनुसार किसानले उत्पादन गरेपछि उद्योगले नै सफाइ, प्रशोधन, प्याकेजिङ र बजारीकरणको सम्पूर्ण जिम्मेवारी लिन्छ ।

व्यापारभन्दा ठूलो लक्ष्य—शुद्ध खानाको संस्कृति
राईका लागि उद्योग केवल आम्दानीको माध्यम होइन । उनी यसलाई परम्परागत खाद्य संस्कृतिको पुनर्जागरण अभियानका रूपमा हेर्छन्। उनको भनाइमा अहिले बजारमा अत्यधिक प्रशोधित, रसायनयुक्त र मिसावट भएका खाद्यवस्तु बढिरहेका छन्। त्यसले स्थानीय रैथाने अन्न ओझेलमा परेको छ।
“आजका बालबालिकाले शुद्ध कोदो वा फापरको स्वादसमेत नचिन्ने अवस्था आउँदैछ,“ उनी भन्छन्। “हाम्रो उद्देश्य व्यापार गर्नु मात्र होइन, उपभोक्तालाई शुद्ध र स्वस्थ खानाप्रति फर्काउनु पनि हो।“हाल उद्योगले कोदो र फापरको पिठो, भटमास, कालो मास, बोडी, राजमा, रजली दाललगायत उत्पादन बजारमा ल्याइरहेको छ। आगामी दिनमा मकै, धान र गुन्द्रुकलाई पनि आधुनिक प्रशोधनमार्फत बजारमा ल्याउने तयारी भइरहेको छ।

१० लाखको लगानी, ३० लाखको कारोबार
करिब १० लाख रुपैयाँको लगानीबाट सुरु भएको उद्योगको वार्षिक कारोबार अहिले ३० लाख रुपैयाँ पुगेको छ। श्रीमतीसँग मिलेर उद्योग सञ्चालन गरिरहेका राईले केही स्थानीयलाई रोजगारीसमेत दिएका छन्। तर उनको बुझाइमा उद्योग सफल हुन किसान, उद्योग र बजारबीचको सम्बन्ध मजबुत हुनुपर्छ। “किसानले उत्पादन नगरे उद्योग चल्दैन। उद्योगले प्रशोधन नगरे उपभोक्ताले गुणस्तरीय उत्पादन पाउँदैन,“ उनी भन्छन्। “उत्पादनदेखि बजारसम्मको सम्पूर्ण शृङ्खला बलियो बनाउनैपर्छ।“
सबैभन्दा ठूलो चुनौती—बजार र उपभोक्ताको सोच
राईका अनुसार बहुराष्ट्रिय कम्पनीका उत्पादन आकर्षक प्याकेजिङ र कम मूल्यमा बजारमा आउँछन्। तर शुद्ध स्थानीय उत्पादन तयार गर्न लागत बढी लाग्ने भएकाले मूल्य पनि केही महँगो पर्छ।त्यसैले उपभोक्ताले मूल्यभन्दा गुणस्तर, स्वास्थ्य र स्थानीय किसानको योगदानलाई पनि हेर्नुपर्ने उनको आग्रह छ। “यदि बजारलाई रुखको टुप्पो मान्ने हो भने किसान त्यसको जरा हुन्, हामी उद्योगी रुखको जिउ हौँ,“ उनी भन्छन्। “जरा बलियो भए मात्रै टुप्पो हरियो हुन्छ।“
सरकारको साथबिना अभियान अपूरो
राईका अनुसार अहिले धेरै उपभोक्ता फेरि पुरानै स्वाद र स्थानीय अन्न खोज्न थालेका छन्। यसले किसान, उद्योगी र उपभोक्ता सबैलाई लाभ पुग्ने सम्भावना बढाएको छ । तर यो अभियानलाई दीगो बनाउन सरकारको भूमिका महत्वपूर्ण रहेको उनी बताउँछन्। उनका अनुसार प्रविधिमैत्री खेती, उत्पादन लागत घटाउने नीति, प्रशोधन उद्योगलाई प्रोत्साहन र बजार व्यवस्थापनमा सरकारी सहयोग आवश्यक छ । सरकार, किसान र उद्यमी एउटै शृङ्खलाका साझेदार बने मात्रै रैथाने अन्नको पुनर्जागरण सम्भव हुने उनको विश्वास छ । धनकुटाबाट सुरु भएको रोशन राईको यो प्रयास एउटा उद्योगको सफलता मात्र होइन, हराउँदै गएको रैथाने अन्न, स्थानीय किसान र स्वस्थ खानाको संस्कृतिलाई फेरि समाजको केन्द्रमा ल्याउने अभियानका रूपमा विस्तार हुँदै गएको छ।


