
विदुर खवास
२० असार, धनकुटा । कोशी प्रदेशकै ‘तरकारीको राजधानी’का रूपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिका यतिबेला अर्को कृषि संकटको सामना गरिरहेको छ । बजारमा उचित मूल्य नपाउँदा यहाँका सयौ ं किसानले उत्पादन गरेको मूला बारीमै कुहिन थालेको छ। नयाँ बाली लगाउने समय आइपुग्दा पनि मूला बिक्री नभएपछि किसानले रासायनिक विषादी छर्किएर, गोरु तथा यान्त्रिक हलो चलाएर उत्पादन नष्ट गर्न बाध्य भएका छन्।

छथर जोरपाटी गाउँपालिकाको जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे र रोटेआहाललगायत क्षेत्रमा व्यावसायिक रूपमा मूला खेती हुँदै आएको छ। तर यस वर्ष किसानले प्रतिकिलो ५ देखि ६ रुपैयाँमै मूला बिक्री गर्नुपरेको छ। यो मूल्यले उत्पादन लागतसमेत नउठ्ने भएपछि धेरै किसान निराश बनेका छन्। गुराँसेका व्यावसायिक किसान इन्द्रसारु मगरका अनुसार पाँच रुपैयाँ किलोमा मूला बेच्दा मल, बीउ, विषादी, जमिन तयारी, सिँचाइ र मजदुरीको खर्चसमेत उठ्दैन। उनले भने, “मूला उखेलेर बजार पठाउन खेतालालाई दिनुपर्ने ज्याला पनि आउँदैन। त्यसैले बारीमै कुहिन दिएका छौं।” उनका अनुसार सुरुमा प्रतिकिलो २० रुपैयाँसम्म बिक्री भएको मूला एकैपटक धेरै उत्पादन बजारमा आएपछि मूल्य ह्वात्तै घटेको हो। अहिले धेरै बारीमा मूला कुहिएर दुर्गन्ध फैलिन थालेको छ। केही किसानले नयाँ बाली लगाउनका लागि गोरु र यान्त्रिक हलो चलाएर मूला मासिरहेका छन् भने कतिपयले विषादी छर्किएर नष्ट गरिरहेका छन्।
तीन हजार किसान परिवार प्रभावित
मूलाले उचित मूल्य नपाउँदा छथर जोरपाटीका करिब तीन हजार किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा स्वयं पनि व्यावसायिक किसान हुन्। उनले आफ्नै करिब २० रोपनी क्षेत्रफलमा लगाएको मूला बारीमै नष्ट गर्नुपरेको बताए। उनले भने, “५ रुपैयाँ किलोमा बेचेर लागत उठ्दैन। कतै उखेलेर फालिएको छ, कतै काटेर छाडिएको छ भने कतै विषादी छर्किएर कुहाउन थालिएको छ।” अध्यक्ष सुब्बाका अनुसार स्थानीय सरकारले बजार नियन्त्रण गर्न नसक्ने भएकाले किसानलाई राहत दिन कठिन भएको छ। “हामीले उत्पादन बढायौं, तर बजार हाम्रो नियन्त्रणमा छैन। किसानको उत्पादन बिक्री हुने सुनिश्चितता संघ र प्रदेश सरकारले गर्नुपर्छ,” उनले भने। उनका अनुसार यस वर्ष मात्रै मूला बिक्री हुन नसक्दा गाउँपालिकाका किसानले दुई करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति बेहोरेका छन्।
उत्पादन गर्ने किसान र उपभोक्ताबीच ठूलो मूल्य अन्तर

किसानले प्रतिकिलो ५–६ रुपैयाँमा पनि बिक्री गर्न नसकेको मूला धनकुटा सदरमुकाममा भने ३० देखि ३५ रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री भइरहेको छ। उत्पादन स्थल र उपभोक्ताबीच मूल्यमा यति ठूलो अन्तर देखिए पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्। स्थानीय किसानका अनुसार छथर जोरपाटीमा उत्पादन भएको तरकारी ठूलो बजारसम्म पु¥याउने प्रभावकारी संकलन, ढुवानी र बजारीकरण संयन्त्रको अभाव छ। भारततर्फ निर्यातमा अवरोध आउँदा स्थानीय बजारमा अत्यधिक आपूर्ति हुने र मूल्य एकाएक घट्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।
हरेक वर्ष दोहोरिने समस्या
छथर जोरपाटी गाउँपालिका मूला मात्र होइन, आलु, बन्दाकोपी, काउली, भेडेखुर्सानी, स्कुस र मटरकोसालगायत व्यावसायिक तरकारी उत्पादनका लागि कोशी प्रदेशभर परिचित क्षेत्र हो। तर उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनको समस्या समाधान हुन नसक्दा किसानले हरेक वर्ष यस्तै मूल्य संकट भोग्दै आएका छन्। कृषि उत्पादन बढाउने सरकारी नीति भए पनि उत्पादनपछि बिक्री सुनिश्चित गर्ने प्रणाली कमजोर हुँदा किसानले ठूलो आर्थिक जोखिम बेहोर्नुपरेको स्थानीयको भनाइ छ।

किसानको माग ः उत्पादन होइन, बजार चाहियो
किसानहरूले कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण, स्थानीय संकलन केन्द्र स्थापना, शीतभण्डार निर्माण, ढुवानीमा अनुदान, बजार व्यवस्थापन तथा उत्पादन–बजार समन्वयका प्रभावकारी कार्यक्रम तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको भनाइ छ—किसानलाई उत्पादन बढाउन मात्रै प्रोत्साहन गरेर हुँदैन, उत्पादनले उचित मूल्य पाउने सुनिश्चितता गर्न सके मात्रै कृषि पेशा टिकाउ बन्न सक्छ। अन्यथा ‘तरकारीको राजधानी’ भनेर चिनिएको क्षेत्रका किसानले हरेक वर्ष यस्तै गरी आफ्नो पसिना र उत्पादन बारीमै कुहिएको हेर्न बाध्य हुनेछन्।

