
३० जेठ धनकुटा । धनकुटा नगरपालिकाले वडा नं २ भिरगाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै चालु आर्थिक वर्षको आम्दानी, खर्च तथा विकास योजनाको प्रगति विवरण सार्वजनिक गरेको छ।
कार्यक्रममा नगरपालिकाले चालु तथा पुँजीगत बजेटको खर्च अवस्था, राजस्व संकलन, सञ्चालनमा रहेका योजनाको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी गराएको थियो। सुनुवाइमा सहभागी स्थानीयवासीले बजेट खर्चको पारदर्शिता, विकास योजनाको प्रभावकारिता, पुँजीगत बजेट कार्यान्वयनको अवस्था तथा सार्वजनिक सेवाको गुणस्तरका विषयमा विभिन्न प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए।

स्थानीयले नगरपालिकाले स्वीकृत गरेका योजना तथा कार्यक्रमको वास्तविक कार्यान्वयन अवस्था स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले सीमित आर्थिक स्रोत र घाटा बजेटका कारण अपेक्षाअनुसार विकास निर्माणका कार्य अघि बढाउन चुनौती रहेको बताए ।नगरपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख सिताराम गौतमका अनुसार वित्तीय दबाबका कारण उपभोक्ता समितिमार्फत सम्पन्न भएका केही योजनाको भुक्तानीसमेत समयमै गर्न नसकिएको अवस्था रहेको छ। यद्यपि उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने र नागरिकका सुझावलाई आगामी योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने उनले प्रतिबद्धता व्यक्त गरे।
नगरपालिकाले सार्वजनिक सुनुवाइलाई स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्ने प्रभावकारी माध्यमका रूपमा लिएको जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

