
१३ जेठ, धनकुटा । सहिद भीमनारायण गोल्डकपको १८औँ संस्करण अन्तर्गत अन्तिम क्वाटर फाईनल खेलमा मोरङको बेलबारी फुटबल क्लबले ललितपुरको सातदोबाटो युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
धनकुटाको तल्लो टुँडिखेलमा बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बेलबारीले सातदोबाटोलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। खेलभर दुवै टोलीले अवसर सिर्जना गरे पनि निर्णायक क्षणमा बेलबारीले बाजी मार्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८०औँ मिनेटमा बेलबारीका विदेशी खेलाडी बाबा टुण्डेले गरेको एकमात्र गोल नै जितको आधार बन्यो। त्यसअघि सातदोबाटोले खेलमा दबाब कायम राख्दै लगातार आक्रमण गरे पनि बेलबारीका गोलकिपर अजय परियार ले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई संकटबाट जोगाएका थिए। निर्णायक गोल गरेका बाबा टुण्डे खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि सिराहाको सलहेश फुटबल क्लब, झापाको बिर्तामोड युनाइटेड क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले अन्तिम चारमा स्थान बनाइसकेका छन्। अब बिहीबार हुने पहिलो सेमिफाइनलमा सलहेश फुटबल क्लब र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान आमनेसामने हुनेछन् भने शुक्रबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब र बेलबारी फुटबल क्लब भिड्ने आयोजकले जानकारी दिएको छ । दुवै सेमिफाइनलका विजेताबीच जेठ १६ गते उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। २०५५ सालमा स्थापना भएको सहिद भीमनारायण गोल्डकप २०६३ सालपछि नियमित रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो।

