२४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026

Radio Khabar Palika

धनकुटामा राष्ट्रिय आर्थिक गणना सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न



२४ चैत्र , धनकुटा । धनकुटामा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय धनकुटाको आयोजनामा आयोजित उक्त कार्यक्रम धनकुटा नगरपालिकाको सभाहलमा मंगलबार सम्पन्न भएको हो।
कार्यक्रममा राष्ट्रिय आर्थिक गणना २०८२ को उद्देश्य, प्रक्रिया तथा महत्वबारे जानकारी गराइएको थियो। आर्थिक गणना देशव्यापी रूपमा एउटै अवधारणा, मापदण्ड, परिभाषा, वर्गीकरण र विधिबाट सञ्चालन गरिने आर्थिक गणना कार्यालय धनकुटाका प्रमुख खगेन्द्र पौडेलले जानकारी दिए । गोष्ठीमा आर्थिक गणनाका पूर्वतयारीदेखि नतिजा विश्लेषण र प्रकाशनसम्मका गतिविधिहरू तोकिएको समयमा सम्पन्न गर्नका लागि सबै सरोकारवाला निकायको सहयोगको अपेक्षा गरीएको प्रमुख पौडेलले बताए । उनले , “राष्ट्रिय आर्थिक गणना सञ्चालन सम्बन्धी प्राविधिक तथा आर्थिक मापदण्ड, २०८२” नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आएको जानकारी पनि दिए । उनले कार्यक्रममा सहभागीहरुलाई आर्थिक गणनाले देशको आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने, नीति निर्माणमा सहयोग पुर्‍याउने तथा विकास योजना तयार गर्न आधार प्रदान गर्ने विषय भएको भन्दै यस कार्यमा सबैलाई सहयोग गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाको अध्यक्षमा सम्पन्न गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित आर्थिक गणनाको महत्वबारे छलफल गरिएको थियो। छलफलमा सहभागीहरुले आर्थिक गणना देशको निति निर्माणसग जोडिएको हुदा सत्य र तथ्य विबरण दिनका लागि सबैलाई आग्रह गर्नुपर्ने बताएका छन । उनीहरुले सबै सरोकारवालहरुले आ–आफनो क्षेत्रबाट सहयोग गरे मात्र विबरण सहि आउने हुदा सबैलाई सक्रियरुपमा लाग्नका लागि कार्यालयले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।