
१० चैत,धनकुटा । धनकुटामा किशोर तथा किशोरीहरूलाई लक्षित गर्दै सामाजिक तथा वित्तीय सीप रूपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।
नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा धनकुटा नगरपालिकाले आयोजना गरेको उक्त तालिम आठ दिनसम्म सञ्चालन भएको थियो। परियोजना कार्यान्वयन इकाइका जीबीभी विज्ञ नुषराज श्रेष्ठका अनुसार तालिममा नगरपालिकाका १० वटै वडाबाट २६ जना किशोर–किशोरीको सहभागिता रहेको थियो। तालिमका क्रममा ‘मेरो संसार’, आत्माजागरण, अधिकार र कर्तव्य, लिङ्ग तथा लैङ्गिकता, किशोरावस्था, पोषण, राम्रो बानी, नागरिक सहभागिता तथा प्राकृतिक प्रकोपजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ अन्तर्गत सञ्चालन गरिएको तालिमपछि सहभागीहरूले नगर क्षेत्रका विद्यालयहरूमा सामाजिक तथा वित्तीय सीपसम्बन्धी कक्षा सञ्चालन गर्ने जनाइएको छ। कार्यक्रमका प्रशिक्षक सन्जोग ठकुरीले किशोर–किशोरीलाई दक्ष र सचेत बनाउनु देश विकासको आधार भएको उल्लेख गर्दै यस्ता तालिमले कम उमेरमा हुने विवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। चैत ४ गतेदेखि सुरु भएको तालिम चैत १० गते मंगलबार एक कार्यक्रमबीच समापन गरिएको हो।







