३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

सिरिजंगा लिपीको युनिकोड सार्वजनिक

सिरिजंगा लिपीको युनिकोड सार्वजनिक



धनकुटा । सिरिजंगा लिपीको युनिकोड सार्वजनिक भएको छ । शुक्रबार साँझ भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवं याक्थुङ (लिम्बू)हरुको मुन्धुमका खोजकर्ता बैरागी काइँलाले सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गर्नुभयो ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समिति र प्रवाश कार्य समिति दक्षिण कोरियाको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट भएको कार्यक्रममा सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गरिएको हो । युनिकोड सार्वजनिकिकरण कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले याक्थुङ (लिम्बू) भाषाको विकास र विस्तारमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
प्राज्ञ अमर तुम्याहाङ, लेखक तथा अन्वेषक डिबी आङबुङ लगायतको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा सिरिजंगा लिपीको युनिकोड निर्माणमा खटिएका पवन चित्रकारले यसको प्रयोगको विषय र प्राविधिक पक्षहरुबारे जानकारी गराउनुभएको थियो ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आर्थिक सहायतामा सिरिजंगा लिपीको युनिकोड निर्माण गरिएको हो । अहिलेको विज्ञान र प्रविधिको युगमा याक्थुङ (लिम्बू) भाषा र सिरिजंगा लिपीको प्रयोगलाई व्यापक बनाउन युनिकोड निर्माण गरिएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दीर्ज काङ्भा लिम्बूले बताए ।
युनिकोड निर्माणका लागि कियाचु दक्षिण कोरियाले २७ लाख ६ हजार रुपैंयाँ आर्थिक संकलन गरेको किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताइन् । भाषाको विकास सम्बन्धी काम गर्न भनेर २० लाख रुपैंयाँको अक्षयकोष स्थापना गरेको उनले बताइन् ।
कार्यक्रममा बोल्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले लामो समयको मिहेनतपछि सिरिजंगा लिपीको युनिकोड निर्माण भई सार्वजनिक भएको बताउदै यसलाई व्यवहारिक प्रयोगमा ल्याउन आह्वान गरे ।
नवौं शताब्दीमा राजा सिरिजंगाहाङले आविस्कार गरेको सिरिजंगा लिपीलाई १७ औं शताब्दीमा ताप्लेजुङको सिनाममा जन्मिएका सिरिजंगा सिंथेबेले व्यापक प्रचारप्रसार गरी प्रयोगमा ल्याएको इतिहास छ । सिरिजंगा लिपीलाई याक्थुङ (लिम्बू) भाषीहरुले प्रयोग गर्दै आएका छन् । हालः यो लिपीको १६ वटा स्वर वर्ण र २४ वटा व्यञ्जन वर्ण प्रयोगमा छन् । २०७८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा याक्थुङ (लिम्बू) भाषीको संख्या ३ लाख ५० हजार ४३६ रहेको छ ।