
धनकुटा, माघ ३ । बाल श्रम विरुद्ध सचेतना फैलाउने उद्देश्यसहित न्यू नव प्रभात क्लब, धनकुटा–५ को आयोजनामा सम्पन्न विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि यु–१२ तर्फ बालसंसार इङलिस बोर्डिङ स्कुल र यु–१४ तर्फ धनकुटा इङलिस बोर्डिङ स्कुलले जितेका छन् ।

माघ २९ गतेदेखि धनकुटाको तल्लो टुडिखेलमा सञ्चालन भएको प्रतियोगितामा यु–१२ मा ८ वटा र यु–१४ मा ७ वटा विद्यालयहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यु–१२ र यु–१४ गरी दुई समूहमा सञ्चालन गरिएको थियो । यु–१२ तर्फ बालसंसार इङलिस बोर्डिङ स्कुलले तमोर भ्याली इङलिस बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा ७–६ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो । विजेता बालसंसारले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता तमोर भ्यालीले नगद ७ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै, यु–१४ तर्फ धनकुटा इङलिस बोर्डिङ स्कुलले बालसंसार इङलिस बोर्डिङ स्कुललाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो ।

विजेता धनकुटा इङलिस बोर्डिङ स्कुलले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बालसंसारले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा बेस्ट कोच, बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा दुवै विधामा उदयमान खेलाडी लगायतका विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, टिम भावना र नेतृत्व क्षमताको विकासमा टेवा पुग्ने विश्वास गरिएको क्लबका अध्यक्ष गोविन्द राईले बताए । उनले बालबालिकालाई श्रमबाट मुक्त गराई खेलकुद र शिक्षातर्फ प्रेरित गर्ने सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।






