२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

Radio Khabar Palika

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा एमालेविरुद्ध नेपाली कांग्रेस धनकुटाको कडा आपत्ति



धनकुटा माघ २१ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली कांग्रेस धनकुटाले नेकपा एमाले धनकुटा, उसका उम्मेदवार राजेन्द्र कुमार राई तथा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूविरुद्ध कडा आपत्ति जनाएको छ।

नेपाली कांग्रेस धनकुटाका निर्वाचन मूल प्रचार–प्रसार समिति संयोजक विजय सन्तोषी राईद्वारा हस्ताक्षरित तथा जिल्ला कार्यसमिति धनकुटाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा नेकपा एमाले पक्षधरहरू हारको मानसिकताबाट ग्रसित भई निर्वाचन प्रभावित पार्ने उद्देश्यले आचारसंहिता विपरीतका गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ। विज्ञप्तिमा एमालेका उम्मेदवार तथा जनप्रतिनिधिहरूले मतदातालाई नगद वितरण गर्ने, साउण्ड सिस्टम, लत्ताकपडा लगायतका भौतिक सामग्री बाँड्ने, बाजागाजासहित भोट माग्ने क्रममा नगद बाँड्ने तथा सवारीसाधनमा पार्टीका झण्डा र निर्वाचन चिन्ह राखी प्रचार–प्रसार गर्ने कार्य व्यापक रूपमा भइरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधि स्पष्ट रूपमा निर्वाचन आचारसंहिता विपरीत भएको कांग्रेसको ठहर छ। नेपाली कांग्रेस धनकुटाले यस विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा औपचारिक उजुरी दर्ता गरिसकेको जनाएको छ। साथै, आचारसंहिता उल्लंघनमा संलग्न उम्मेदवार राजेन्द्र कुमार राईको उम्मेदवारी खारेज गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ। सम्बन्धित निकायहरूले तत्काल कारबाही नगरेमा जनस्तर तथा पार्टी पंक्तिबाट सशक्त प्रतिरोध गरिने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ। यसैबीच, २०८२ भाद्र २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक सन्दर्भलाई आत्मसात गर्दै नेपाली कांग्रेसले नीति र नेतृत्वमा परिवर्तनसहित आफूलाई समयअनुकूल रूपान्तरण गरेको दाबी गरेको छ। पार्टीले युवा नेता तथा सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै धनकुटालाई समृद्ध र सम्मानित बनाउने दृढ संकल्प लिएको जनाएको छ।नेपाली कांग्रेसले धनकुटा जिल्लाबाट पार्टीका तर्फबाट उम्मेदवार बनेका परिवर्तनका नेतृत्वकर्ता, युवाहरूको आशा तथा अभिभावकहरूको भरोसाका पात्र दिनेश राईलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन सम्पूर्ण धनकुटेली मतदातासमक्ष हार्दिक अपिल गरेको छ।