२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

Radio Khabar Palika

धनकुटामा पाथीभरा केवलकार परियोजना रोक्न माग गर्दै विरोध प्रदर्शन



माघ १२, धनकुटा । ताप्लेजुङस्थित पाथीभरा जाने बाटोमा निर्माधिन केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध प्रद्र्धशन गरिएको छ।

कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिको संयुक्त आयोजनामा मदन चौकमा विरोध सभा गरिएको हो। कोणसभामा वक्ताहरूले मुकुम्लुङ–पाथीभरा क्षेत्र आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा केवलकार निर्माणले पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पार्ने बताएका छन्। वक्ताहरूले विकासको नाममा स्थानीय समुदायको भावना, धार्मिक मान्यता र ऐतिहासिक महत्वमाथि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। उनीहरूले कुनै पनि विकास परियोजना अघि बढाउँदा स्थानीय आदिवासी समुदायको सहमति, सहभागिता र संस्कृतिको सम्मान अनिवार्य हुनुपर्नेमा जोड दिए। कार्यक्रममा किराँत याक्थुमचुम्लुङका केन्द्रीय सदस्य चन्द्रसिंह नेम्वाङले मुकुम्लुङ केवल धार्मिक स्थल मात्र नभई आदिवासी समुदायको सभ्यता, संस्कार र आत्मसम्मानसँग जोडिएको पवित्र भूमि भएको बताए। यस्तै विश्वहिन्दु महासंघ कोशी प्रदेशका आनन्द सन्तोषी राईलगायत वक्ताहरूले परियोजना रोक्न सरकारसँग माग गरे। विरोध कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी र अधिकारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।