
पुस ८ धनकुटा । जिल्ला बक्सिङ संघ धनकुटाले कल्चरल, म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ।
संघले आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका धनकुटा नगरपालिका८, मिलनचोकका चौतिसलाल राई र चौबिसे गाउँपालिका वडा नं ७, लुफादिनका ब्लड क्यान्सर पीडित जितेन चेम्जोङलाई नगद सहयोग प्रदान गरेको हो। जिल्ला बक्सिङ संघका अनुसार मिर्गौला फेल भई नियमित डायलिसिस गराइरहनुभएका राईलाई १ लाख १८ हजार ४ सय ७० रुपैयाँ तथा काठमाडौँस्थित ओम अस्पतालमा उपचाररत ब्लड क्यान्सर पीडित चेम्जोङलाई ३० हजार रुपैयाँ सहयोग गरिएको छ। यस्तै, संघले धनकुटाको श्रीपञ्चमीस्थित अनाथ बालबालिकालाई २२ हजार रुपैयाँ बराबरको खाद्यान्न, धनकुटा बसपार्क क्षेत्रमा ४५ हजार रुपैयाँ लागतमा दुई थान सिसी क्यामेरा जडान, साथै विभिन्न क्लबहरूलाई १८ हजार रुपैयाँ बराबरको खेल सामग्रीसमेत सहयोग गरेको छ। जिल्ला बक्सिङ सङ्घ धनकुटाका कार्यवाहक अध्यक्ष हेमचन्द्र राईका अनुसार गत मङ्सिर २५ देखि पुस ५ गतेसम्म धनकुटा बसपार्कमा सञ्चालन गरिएको कल्चरल, म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकमबाट यी सहयोगहरू गरिएको हो। सांस्कृतिक कार्यक्रमबाट कुल ६ लाख ५ हजार रुपैयाँ सङ्कलन भएकोमा सहयोग वितरण तथा कार्यक्रम सञ्चालन खर्च कटाएर ९० हजार रुपैयाँ बचत भएको सङ्घले जनाएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै खेलकुद सङ्घमार्फत मानवीय सेवामा योगदान पुर्याएको भन्दै स्थानीयस्तरमा बक्सिङ सङ्घको यस पहलको प्रशंसा गरिएको छ।






