
१६ भदौ,धनकुटा । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाख्रीबास नगरपालिकाले ३० लाख ३३ हजार ६ सय १४ रुपैयाँ सहयोग जुटाएको जनाएको छ । नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइते तथा अपाङ्गता भएका पीडितको शीघ्र स्वास्थ्यलाभ र पुनःस्थापनाको कामना गरिएको छ। नगर कार्यपालिकाको २०८३ भदौ १५ गते बसेको बैठकले विपद्बबाट प्रभावितहरूको तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको नगरपालीकाका प्रमुख ज्ञान बहादुर गुरुङले जानकारी दिए । उक्त सहयोग रकम विभिन्न स्रोतबाट संकलन गरिने गुरुङले जानकारी दिए । जसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ, नगरपालिकाका जनप्रतिनिधिहरूको सेवा सुविधाबाट १ लाख ३३ हजार रुपैयाँ, नगरपालिकामा कार्यरत कर्मचारीहरूको तलब स्केलबाट ६ लाख ४८ हजार ९ सय ४३ रुपैयाँ र नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब स्केलबाट १७ लाख २१ हजार ६ सय ७२ रुपैयाँ रहेको छ । जम्मा ३० लाख ३३ हजार ६ सय १४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय भएको पाख्रीबास नगरपालिकाका प्रमुख गुरुङले जानकारी दिए । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीले नदी आसपासका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको छ। बाढीपछि उद्धार, खोजी तथा राहत कार्य जारी रहेको छ।
