
१ भदौ, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेर्खकका करिब ३५ वर्षीय ओमबहादुर राना सोही वडास्थित गौथली भिरमा मृत अवस्थामा फेला परेका छन्।
जटिल भूगोलमा रहेको रानाको शव उद्धारका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुरोधमा नं २ बाहिनी अड्डा हिलेको निर्देशनमा सल्लेरीस्थित श्री भीमदल गणबाट नेपाली सेनाको टोली परिचालन गरिएको थियो। सेनानी मन्दिप राईको कमान्डमा खटिएको टोलीले सोमबार दिउँसो करिब १२ः४५ बजेदेखि शव उद्धार कार्य सुरु गरेको थियो। कठिन र जोखिमपूर्ण भूगोलमा रहेको शवलाई श्री भीमदल गणको टोलीले जिल्लास्थित अन्य सुरक्षा निकायसँगको सहकार्यमा दिउँसो करिब ४ः३० बजे सफलतापूर्वक उद्धार गरेको जनाइएको छ।

उद्धारपछि शव आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायलाई जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
