
विदुर खवास
२४ असार, धनकुटा । धनकुटा जिल्ला अस्पताल आसपास सञ्चालनमा रहेका होटल तथा खाजाघरमा अखाद्य तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री भइरहेको गुनासो बढेपछि स्थानीय प्रशासनले छड्के अनुगमनलाई तीव्र बनाएको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा हुलाकटोल क्षेत्रका विभिन्न होटलमा सरसफाइ, खाद्य गुणस्तर तथा मूल्यसूचीको अवस्था परीक्षण गरिएको थियो। अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी म्याद गुज्रिएका खाद्यान्न, तयारी खानेकुरा तथा पुनः प्रयोग गरिएको पुरानो तेल फेला परेपछि ती सबै जफत गरी नष्ट गरिएको छ।
अनुगमनका क्रममा काफ्ले होटलमा भान्सा सरसफाइको अवस्था कमजोर रहेको, पुरानो तेल प्रयोग गरी परिकार तयार गरिएको तथा खाद्य सुरक्षा मापदण्ड उल्लंघन गरेको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जिल्ला अस्पताल आसपास बिरामी र कुरुवाको दैनिक आवतजावत धेरै हुने भएकाले उनीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष निगरानी सुरु गरिएको बताए । पछिल्लो समय सेवाग्राहीबाट लगातार गुनासा आएपछि पूर्वसूचना बिना छड्के अनुगमन गरिएको उनको भनाई छ ।
अनुगमनका क्रममा केही होटलमा अनिवार्य रूपमा राख्नुपर्ने मूल्यसूची नराखिएको, खान अयोग्य खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा खाद्य सरसफाइका आधारभूत मापदण्डसमेत पालना नगरेको भेटिएको थियो। सम्बन्धित व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ।
आगामी दिनमा पनि यस्ता अनुगमन नियमित हुने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले चेतावनी दिए। अनुगमन टोलीमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्थानीयवासीले अस्पताल वरपरका होटलमा खाद्य गुणस्तर र सरसफाइमा विशेष निगरानी आवश्यक रहेको बताउँदै प्रशासनको अनुगमनलाई निरन्तरता दिन माग गरेका छन्।

