१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

Radio Khabar Palika

धनकुटामा अन्तरपुस्ता संवाद, जेष्ठ नागरिक र विद्यार्थीबीच बुढ्यौली शिक्षामा अन्तरक्रिया



१५ बैशाख ,धनकुटा । धनकुटामा जेष्ठ नागरिक अभिभावक र प्लस टुका विद्यार्थीबीच अन्तरपुस्ता सम्बन्ध सुदृढ गर्ने उद्देश्यले “अन्तरपुस्ता एवं बुढ्यौली शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारको आयोजना तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय जेष्ठ नागरिक महासङ्घको सहआयोजनामा कार्यक्रम गरिएको हो। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पुस्ताबीच समझदारी र सहकार्य बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। राष्ट्रिय जेष्ठ नागरिक महासङ्घका सल्लाहकार डा. प्रेम शर्माले बुढ्यौली शिक्षा र अन्तरपुस्ता सम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्दै युवा र जेष्ठबीचको दूरी कम गर्न संवाद आवश्यक रहेको औंल्याए। उनले अनुभव र ज्ञानको आदानप्रदानले सम्बन्ध थप सुदृढ बनाउन सकिने धारणा राखे।


कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण भागवत श्रेष्ठले यस्ता अन्तरक्रियाले बुढ्यौली तथा पुर्खौली शिक्षा प्रवर्द्धन गर्नुका साथै जेष्ठ नागरिक र युवाबीचको दूरी घटाउन सहयोग पुग्ने बताए।
अन्तरक्रियामा सहभागी विद्यार्थी र जेष्ठ नागरिकबीच अनुभव, सामाजिक मूल्य र परम्परागत ज्ञान आदानप्रदान गरिएको थियो। सहभागीहरूले पुस्तान्तरणसँगै कमजोर बन्दै गएको अन्तरपुस्ता सम्बन्धलाई यस्ता कार्यक्रमले पुनः मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार अन्तरपुस्ता संवादले समाजमा आपसी सम्मान, सहकार्य र समझदारी अभिवृद्धि गर्दै सामाजिक सद्भाव कायम गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमले जेष्ठ नागरिकका अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउने र युवामा बुढ्यौलीप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने सन्देशसमेत दिएको छ।सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शारदा चन्द, कोषाध्यक्ष केदार तिम्सिना, महासचिव मोहनलाल श्रेष्ठ, सचिव वासुदेव पण्डितसहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।