११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

Radio Khabar Palika

हुलाकमार्फत राहदानी वितरण गर्न धनकुटामा समझदारी, सेवाग्राहीले घरमै सेवा पाउने



११, बैशाख, धनकुटा । राहदानी (पासपोर्ट) वितरण प्रक्रियालाई सहज, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन धनकुटामा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच हुलाकमार्फत राहदानी वितरणसम्बन्धी समझदारी भएको छ।

नेपाल सरकारको नीतिअनुसार गरिएको समझदारीपछि अब सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमै उपस्थित नभई हुलाकमार्फत सुरक्षित रूपमा राहदानी प्राप्त गर्न सक्ने भएका छन्। धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले यस व्यवस्थाले सेवाग्राहीको समय बचत हुनुका साथै कार्यालयको भीडसमेत घट्ने अपेक्षा गरिएको बताए। समझदारीअनुसार जिल्ला प्रशासन कार्यालयले राहदानी आवेदन स्वीकृत भएपछि आवश्यक विवरण संकलन गरी सुरक्षित रूपमा हुलाक कार्यालयलाई हस्तान्तरण गर्नेछ। हुलाक कार्यालयले प्राप्त राहदानी सेवाग्राहीसम्म सुरक्षित ढुवानी तथा वितरण गर्ने जिम्मेवारी वहन गर्ने प्रमुख जिल्ला अधिकारी खडकाले जानकारी दिए । वितरण प्रक्रियामा कुनै समस्या आएमा सम्बन्धित निकायबीच समन्वय गरेर समाधान गर्ने व्यवस्था पनि गरिएको छ।

समझदारी पत्रमा राहदानी वितरण प्रक्रियालाई थप व्यवस्थित, सहज र विश्वसनीय बनाउने उद्देश्य राखिएको प्रमुख जिल्ला अधिकारी खडकाले जानकारी दिए। हुलाक सेवाबाट राहदानी प्राप्त गर्दा लाग्ने शुल्क भने प्रचलित कानुनअनुसार निर्धारण गरिने जनाइएको छ। समझदारीपत्रमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मी र हुलाक अधिकृत रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो व्यवस्था लागू भएसँगै धनकुटाका सेवाग्राहीले अब घरनजिकैबाटै राहदानी सेवा लिन सक्ने छन ।