
२९ फागुन ,धनकुटा। सुक्खा पहिरो खसेपछि धनकुटाको भेडेटार–रविराँके सडकअन्तर्गत भेडेटार–नाम्जे खण्ड अवरुद्ध भएको छ। माथिबाट लगातार ढुंगा र माटो झर्न थालेपछि गए रातिदेखि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
गए राति सामान्य वर्षापछि सुक्खा पहिरो खस्न सुरु गरेको भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानले जानकारी दिए । लगातार सुक्खा पहिरो खसिरहेकोले सडक सञ्चालन गर्न समस्या भएको उनको भनाई छ । “माथिबाट ढुंगा र माटो झर्ने क्रम जारी रहेकाले तत्काल पहिरो पन्छाउन सकिएको छैन,” उनले बताए। सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्रा टेकले बिहानैदेखि डोजरलगायत उपकरण तयारी अवस्थामा राखेको छ। तर पहिरो खस्ने क्रम नरोकिएकाले काम सुरु गर्न नसकिएको सागुरगिढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए । राईका अनुसार पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सडक सफा गर्ने काम अघि बढाइनेछ। उनले आज नै सडक खुल्ने सम्भावना कम देखिए पनि निर्माण कम्पनीका कामदार र उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिए । सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू प्रभावित भएका छन्। स्थानीय प्रशासनले यात्रुहरूलाई सावधानी अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।







