२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

Radio Khabar Palika

धनकुटामा निर्वाचन प्रहरीलाई उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम



२७ फागुन, धनकुटा । धनकुटामा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीलाई उद्यमशीलता र रोजगारीसँग जोड्ने उद्देश्यले उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा भएको कार्यक्रममा जनपथ प्रहरीतर्फका ९ सय ८९ जना र सशस्त्र प्रहरीतर्फका ९६ जना गरी कुल १ हजार ८५ जना निर्वाचन सुरक्षामा खटिएका प्रहरी सहभागी भएका छन्।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालयलगायत विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूले आफ्ना कार्यालयमार्फत उपलब्ध हुने सीपमूलक तालिम, उद्यम स्थापना प्रक्रिया र रोजगारीका सम्भावनाबारे जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले उत्तरपानीस्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी प्रहरीको चाहना अनुसार तालिम सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए।

तालिममार्फत सहभागीलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका विभिन्न मोडेलबारे जानकारी दिइएको छ। साथै बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी पनि गरिएको जनाइएको छ।

कार्यक्रम अन्तर्गत होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइ लगायतका तालिम सञ्चालन गर्ने योजना रहेको छ। त्यसैगरी मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक सीपमा समेत माग अनुसार तालिम दिने घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रतिनिधि विकास कार्कीले जानकारी दिए।

यसका साथै कृषि तथा पशुपालन क्षेत्रमा समेत निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको आयोजकले जनाएको छ।