
१८ फागुन, धनकुटा । धनकुटाको चुनावी माहोलबीच धर्मराज पौडेलले आफ्नो विकास एजेन्डा सार्वजनिक गर्दै मतदातासँग समर्थन मागेका छन्। सोमबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा पनि एजेन्डामाथि बहस गर्न आग्रह गर्दै आफू परिणाममुखी नेतृत्व दिन प्रतिबद्ध रहेको बताए। पौडेलले विगतका वर्षमा विकास निर्माणले अपेक्षित गति लिन नसकेको टिप्पणी गर्दै अब प्राथमिकताआधारित योजना कार्यान्वयन आवश्यक रहेको धारणा राखे। उनका अनुसार कृषि, रोजगारी र पूर्वाधार विकास धनकुटाको समृद्धिका मुख्य आधार हुन्। कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण र युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने विषयलाई उनले पहिलो प्राथमिकतामा राखेका छन्। त्यस्तै, ग्रामीण सडक स्तरोन्नति, खानेपानी तथा सिँचाइ सुविधा विस्तार र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने उनको योजना छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार, सामुदायिक विद्यालय सुदृढीकरण तथा स्थानीय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याए। उनले सार्वजनिक स्रोत–साधनको दुरुपयोग रोक्ने, बजेट कार्यान्वयनलाई पारदर्शी बनाउने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम अघि सार्ने बताए। दलको नामभन्दा पनि उम्मेदवारको इमानदारी र क्षमताका आधारमा मत दिन मतदातालाई आग्रह गर्दै उनले विवादित पात्रलाई समर्थन नगर्न अपिल गरे। सामाजिक सद्भाव र समावेशी विकासलाई केन्द्रमा राख्दै उनले धनकुटामा कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने स्पष्ट पारे। निर्वाचनपछि पनि जनतासँग प्रत्यक्ष संवादमा रही विकास योजना निर्माण र कार्यान्वयन गर्ने वाचा उनले गरेका छन्।







