१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

सुनसान बन्यो धनकुटाको मुख्यमन्त्री सम्पर्क कार्यालय



१. उद्देश्य र स्थापना
कोशी प्रदेश सरकारसँग जिल्लास्तरमै प्रत्यक्ष समन्वय र जनगुनासा सुन्ने उद्देश्यले २०७६ वैशाखमा तत्कालीन मुख्यमन्त्री शेरधन राई द्वारा धनकुटामा सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो।

. हालको अवस्था
कार्यालय अधिकांश समय बन्द जस्तै छ। मुख्यमन्त्री तथा सचिवको कार्यकक्ष, क्याबिनेट हल र सामग्री प्रयोगविहीन छन् भने एक जना कार्यालय सहयोगीबाहेक अन्य कर्मचारीको उपस्थिति छैन।

३. मुख्यमन्त्रीहरूको न्यून उपस्थिति
शेरधन राई बाहेक अन्य मुख्यमन्त्रीहरूको उपस्थिति न्यून देखिएको छ। राजेन्द्र राई एकपटक कार्यक्रममा आएका थिए, केदार कार्की ले मन्त्रिपरिषद् बैठक राखेका थिए। तर उद्धव थापा, भीम आचार्य र वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की को उपस्थिति नभएको स्थानीयको भनाइ छ।

४. औचित्यमाथि प्रश्न
प्रदेश सरकारको जिल्लास्तरीय पहुँच बलियो बनाउने उद्देश्यले खोलिएको कार्यालय नै निष्क्रिय बनेपछि यसको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठ्दै स्थानीयमा आक्रोश बढेको छ।

१६ फागुन, धनकुटा । धनकुटामा स्थापना गरिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय अहिले सुनसान बनेको छ। प्रदेश सरकारसँग प्रत्यक्ष समन्वय र जनगुनासा सुन्ने उद्देश्यले खोलिएको कार्यालयमा राजनीतिक पदाधिकारी र कर्मचारीको उपस्थिती नहुँदा सेवाग्राहीको चहलपहल शून्य छ। कोशी प्रदेश सरकारसँग जिल्लास्तरमै प्रत्यक्ष समन्वय गर्ने उद्देश्यले स्थापना गरिएको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रभावहीन बन्दै गएको हो। विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णयपछि धनकुटावासीको असन्तुष्टि कम गर्न पुरानो प्रशासन भवनमा सम्पर्क कार्यालय स्थापना गर्दै २०७६ वैशाखमा तत्कालीन मुख्यमन्त्री शेरधन राईले कार्यालय उद्घाटन गरेका थिए । तर अहिले कार्यालयका ढोका अधिकांश समय बन्द देखिन्छन्। मुख्यमन्त्री तथा सचिवको कार्यकक्ष, क्याबिनेट हल र सामग्री प्रयोगविहीन जस्तै बनेका छन्। एक जना कार्यालय सहयोगीबाहेक अन्य कर्मचारीको उपस्थिती छैन। कोशी प्रदेश स्थापना भएयता मुख्यमन्त्री बनेकाहरू मध्ये शेरधन राई बाहेक अन्यको उपस्थिती न्यून देखिएको छ। राजेन्द्र राई एकपटक कार्यक्रममा सहभागी हुन आउका थिऐ भने केदार कार्कीले मन्त्रिपरिषद् बैठक राखेका थिए। त्यसपछि उद्धव थापा, भीम आचार्य र वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की कार्यालयमा नगएको स्थानीयको भनाइ छ।
कार्यालयमा कार्यरत सहयोगीले आफू एक्लै रहेको र अन्य कर्मचारीबारे जानकारी नभएको बताइन। मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले भने कार्यालय सञ्चालनका विषयमा मुख्यमन्त्रीको चासो रहेको दाबी गरे । धनकुटामा प्रदेश सरकारको उपस्थितिलाई बलियो बनाउने उद्देश्यले स्थापना गरिएको सम्पर्क कार्यालय नै निष्क्रिय बनेपछि यसको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। प्रदेश सरकारको जिल्लास्तरीय पहुँच र जनगुनासा व्यवस्थापनका लागि खोलिएको कार्यालय प्रभावकारी नहुँदा स्थानीय आक्रोशित भएका छन ।