१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

निर्वाचन लक्षित गर्दै किरात याक्थुङ चुम्लुङको १५ बुँदे अपिल



१६ फागुन ,धनकुटा । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १५ बुँदे अपिल सार्वजनिक गरेको छ।
आज धनकुटामा पत्रकार सम्मेलन गर्दै चुम्लुङले “पार्टी र जातिभन्दा माथि उठौं, हाम्रो एजेन्डा स्वीकारौं, अघि बढाऔं र कार्यान्वयन गर्नेलाई जिताऔं” भन्ने नारासहित सार्वजनिक अपिलमा याक्थुङ लिम्बू आदिवासी समुदायका सवाल तथा मुद्दालाई प्राथमिकताका साथ उठाइएको हो ।चुम्लुङले याक्थुङ लिम्बू समुदायको ऐतिहासिक भूगोल, पहिचान, भाषा, संस्कृति र अधिकारसँग सम्बन्धित विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सारेको छ। अपिलमा लिम्बुवान राज्य स्थापनाको ऐतिहासिक सन्दर्भ, नामाङ्कनको विषय, मातृभाषा शिक्षाको कार्यान्वयन, आदिवासी अधिकारसम्बन्धी कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयनको माग गरिएको छ। त्यस्तै, अपिलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार आदिवासीहरूको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघीय घोषणा–पत्र अनुरूप कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, अतिक्रमित भूमि फिर्ता, प्राकृतिक स्रोतसाधनमा समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषय पनि समेटिएको छ।
चुम्लुङले सरकारी सेवामा समानुपातिक तथा प्राथमिकताका आधारमा प्रतिनिधित्व, मातृभाषामा शिक्षा, सार्वजनिक कार्यालयहरूमा किरात सिरिजंगा लिपि र याक्थुङ भाषाको प्रयोग, तथा आदिवासी अधिकार आयोग गठनको माग गरेको छ।
यसैगरी, विगतका आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनुका साथै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विषय पनि अपिलमा समावेश छ।
चुम्लुङले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना एजेन्डाप्रति स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै ती एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ । किरात याक्थुङ चुम्लुङ धनकुटाले निर्वाचनलाई आदिवासी अधिकार र पहिचानको सवालसँग जोड्दै मतदातालाई सजग र जिम्मेवार ढंगले मतदान गर्न अपिल गरेको चुम्लुङ अध्यक्ष हेमकुमार आंङ लाले जानकारी दिए ।