
धनकुटा, ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनकुटामा चुनावी गतिविधि तीव्र बनेको छ। १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रका बजार तथा बस्तीमा यतिबेला घरदैलो अभियान चलिरहेको छ।

सोमबारदेखि औपचारिक प्रचार–प्रसार अवधि सुरु भएसँगै उम्मेदवारहरू मतदाता भेटघाटमा सक्रिय भएका छन्। यसैक्रममा नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले धनकुटा बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन्। धनकुटा बसपार्कबाट सुरु भएको उक्त अभियानका क्रममा राईले भेटिएका मतदातासँग भलाकुसारी गर्दै समर्थन मागेका थिए। राईले पुरुष मतदातालाई ढाका टोपी तथा महिलालाई रुद्राक्षको माला लगाइदिँदै मत मागेका थिए ।

तर घरदैलोका क्रममा मतदातालाई उपहार वितरण गरिएको विषयले भने चर्चा पाएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ मा राजनीतिक दल वा उम्मेदवारले कुनै पनि व्यक्ति वा संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता घोषणा गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।

आचारसंहिताको दफा १३ को उपदफा झ मा यस्ता गतिविधि निषेध गरिएको उल्लेख छ। यद्यपि, प्रचार अभियानकै क्रममा प्रतीकात्मक उपहार वितरणलाई कसरी व्याख्या गर्ने भन्ने विषयमा स्थानीय स्तरमा मत विभाजित देखिएको छ।

कतिपयले यसलाई सामान्य सांस्कृतिक अभिव्यक्ति मानेका छन् भने अन्यले आचारसंहिताको भावना विपरीत भएको टिप्पणी गरेका छन्। धनकुटामा यसपटक १४ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म जारी रहनेछ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारका गतिविधि र आचारसंहिताको पालना विषय झन् चासोको केन्द्रमा रहने देखिएको छ।







