१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

Radio Khabar Palika

आचारसंहिता उल्लंघनको आरोपमा पूर्वमन्त्री राजेन्द्रकुमार राईविरुद्ध उजुरी



धनकुटा, १० माघ ।पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटामा उजुरी दर्ता भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट एमालेका उम्मेदवारसमेत रहेका राईले मतदातालाई प्रभावित गर्ने गरी नगद वितरण गरेको आरोप लगाइएको हो। उजुरी अनुसार राईले सहिदभूमि गाउँपालिका–१ सफाइटारकी ४५ वर्षीया बाँसुरीवादक तीर्थकुमारी राईलाई गाउँमै पुगेर दोसल्ला ओढाई नगदसहित सम्मान गरेका थिए। सोही कार्यक्रममा सहिदभूमि गाउँपालिकाका अध्यक्ष तथा एमाले नेता मनोज राईले पनि प्रोत्साहनस्वरूप पाँच हजार रुपैयाँ नगद प्रदान गरेका थिए। राईले भने गाउँमा लुकेका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको दाबी गरेका छन्। कार्यक्रममा कोशी प्रदेशका पूर्व राज्यमन्त्री निरन राई र गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईको पनि उपस्थिति रहेको थियो। नेपाली कांग्रेस धनकुटाका सभापति तथा उम्मेदवार दिनेश राईले आचारसंहिता विपरीत प्रलोभन देखाएको भन्दै राईको उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकृत इन्द्रकुमार योङहाङका अनुसार दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। छलफल र प्रमाणका आधारमा निर्णय गरिने र आचारसंहिता उल्लंघन पुष्टि भए उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने जनाइएको छ।