५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

Radio Khabar Palika

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा



माघ ४, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो।

कार्यक्रम गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका अध्यक्ष जितेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेल, स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बन्जाडे, इलाका प्रहरी कार्यालयका प्रमुख महेश भट्टराईलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै साँगुरीगढी गाउँपालिकाका सबै वडामा कार्यरत स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पूर्ण खोप सुनिश्चितता बालबालिकाको स्वस्थ भविष्य निर्माणको आधार भएको उल्लेख गरे। खोपमार्फत रोक्न सकिने विभिन्न रोगबाट बालबालिकालाई सुरक्षित राख्न नियमित, समयमै र गुणस्तरीय खोप सेवा अपरिहार्य रहेको उनीहरूको भनाइ थियो। साथै खोप कार्यक्रमलाई निरन्तर, प्रभावकारी र दिगो बनाउन स्थानीय सरकार, स्वास्थ्यकर्मी तथा समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।गाउँपालिकाले सबै बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याउन सफल भएको जनाउँदै खोपबाट रोक्न सकिने रोगहरूको जोखिम न्यूनिकरणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिएको छ। यस उपलब्धिलाई निरन्तरता दिन अभिभावक, समुदायका अगुवा तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।कार्यक्रमको समापनमा सहभागी स्वास्थ्यकर्मीहरूले साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा कायम राख्दै दिगोपना सुनिश्चित गर्ने दिशामा अझ सशक्त रूपमा अघि बढ्ने निष्कर्ष निकालेका थिए।