४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

Radio Khabar Palika

खेल मैदानका लागि चन्दा उठाएर साढे २३ लाखमा साढे ६ रोपनी जग्गा खरिद




समाचार संक्षेप
  • छथर जोरपाटी–१ हात्तीखर्कका युवाले चन्दा संकलन गरी टारीमा खेल मैदानका लागि साढे ६ रोपनी जग्गा २३ लाख ५० हजार रुपैयाँमा खरिद गरेका छन्। सात महिनाको अभियानपछि ‘टारीमेला खेलकुद विकास समिति’ मार्फत जग्गा खरिद गरिएको हो। हाल उक्त मैदानमा भलिबल र महिला फुटबल प्रतियोगिता सञ्चालन भइरहेका छन्।

माघ ३,धनकुटा। छथर जोरपाटी गाउँपालिका–१ हात्तीखर्कका खेलप्रेमी युवाले चन्दा संकलन गरेर टारीमा खेल मैदानका लागि साढे ६ रोपनी जग्गा खरिद गरेका छन्। युवाहरूले २३ लाख ५० हजार रुपैयाँ संकलन गरी खेल मैदान निर्माणको आधार तयार गरेका हुन्।
वर्षौंदेखि खेलकुद पूर्वाधारको अभाव झेल्दै आएका टारी क्षेत्रका युवाले सात महिनासम्म निरन्तर सहयोग संकलन अभियान सञ्चालन गरेका थिए। स्थानीय युवाको सक्रियतामा ‘टारीमेला खेलकुद विकास समिति’ दर्ता गरी जग्गा खरिद प्रक्रिया अघि बढाइएको समाजसेवी तथा हातिखर्कका अगुवा कमलदिप तिगेलाले जानकारी दिए ।
गाउँघरमा आयोजना हुने फुटबल, भलिबललगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न उपयुक्त मैदान नहुँदा समस्या भइरहेको अवस्थामा युवाहरूले आफैं पहल थालेको समितिका सदस्य भीमराज लिम्बुले बताए। उनका अनुसार स्थानीय बासिन्दा, खेलाडी, पूर्वखेलाडी तथा विदेशमा रहेका युवासमक्ष सहयोगको आह्वान गरी आवश्यक रकम जुटाइएको हो।
जग्गा खरिदमा गगन कटवालले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् भने सुवास तिगेलाले १ लाख २० हजार, आनन्द लिम्बुले १ लाख ११ हजार र समिर लिम्बुले १ लाख १ हजार रुपैयाँ योगदान दिएका छन्। यसबाहेक अन्य धेरै स्थानीय दाताको सहयोगले आवश्यक रकम संकलन गर्न सफल भएको समितिले जनाएको छ।
छथर जोरपाटी गाउँपालिकाले खेल मैदान सम्याउने कार्यका लागि १ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको छ। उक्त रकम समितिमार्फत प्रयोग गरी मैदान सम्याउने काम गरिएको लिम्बुले जानकारी दिए।
हाल टारी खेल मैदानमा अन्तरवडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता तथा महिला फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ। समितिले आगामी दिनमा चरणबद्ध रूपमा खेल मैदानमा थप पूर्वाधार निर्माण गर्दै व्यवस्थित खेलकुद केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।