३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

Radio Khabar Palika

धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



धनकुटा, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि धनकुटा जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना भएको छ। उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायधिस कृष्णलाल भट्टराईले धनकुटा नगरपालिका ५ स्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन। कार्यालय स्थापना गर्दै उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरुसँग सहयोग गर्न आग्रह गरे उनले निर्वाचनको बारेमा सर्वपक्षीय छलफल आगामी ४ गते गरिने बताउँदै देशको विशेष पर्वलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। निर्वाचनमा निष्पक्षता र स्वतन्त्रता, कानुनी ज्ञान र अनुभव, विवाद समाधानको क्षमता, सार्वजनिक विश्वास र संविधान तथा कानुनको संरक्षणको दायित्व न्यायधिसको भएकाले निर्वाचनमा मुख्य निर्वाचन अधिकृत न्यायधिसलाई नियुक्त गर्ने चलन रहेको उच्च अदालत विराटनगर धनकुटा इजलासका मुख्य न्यायधिस भट्टराईले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुुरक्षाको प्रत्याभूति दिने विश्वास दिलाए। प्रतिनिधी सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नाम मुख्य निर्वाचन अधिकृत नियुक्त भइसकेका छन ।
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि धनकुटा जिल्लामा १ सय १९ मतदानस्थलमा १ सय ६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहने भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। यस्तै धनकुटामा जिल्लामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला गरि एक लाख १८ हजार ४ सय २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।