३ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

Radio Khabar Palika

धनकुटा विभिन्न धाममा माघेसंक्रान्ति मेला



धनकुटा, १ माघ । माघेसंक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ। माघेसंक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो।
धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्ने कौशीका धाममा पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ। यस्तै त्रिवेणीमा नुहाएर हंसमोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाक्षा पुरा हुने विश्वास रहेको स्थानीय महेन्द्र न्यौपानेले जानकारी दिए। मेलामा आउने भक्तजनलाई मन्दिर व्यवस्थापन समितिले निशुल्क प्रसाद वितरण गरेको थियो।


यस्तै धनकुटाको भीरगाउँमा रहेको मधुगंगा र बाघेखोलामा रहेको धर्मगंगामा मकर नुहाउन बिहानैदेखि भक्तजनको घुइचो लागेको हो। यी ठाउँमा मकर नुहाउँदा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ। यस्तै मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ। हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि मधुगंगामा भीड लागेको स्थानीय राजेन्द्र गुरागाइले जानकारी दिए। मधुगंगा धाम धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ। मधुगंगामा माघे संक्रान्तिसगै मंसिर पूणिमा, साउन महिना र स्वस्थानी ब्रत सुरु तथा समापन लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ।