
माघ १, धनकुटा । माघे सकराती पर्वका अवसरमा धनकुटाका मगर समुदायले मिनाम ल्हेस ५०१९ लाई सांस्कृतिक र्याली तथा विविध कार्यक्रम गरी भव्य रूपमा मनाएका छन्।

नेपाल मगर संघ धनकुटाको आयोजनामा तथा विभिन्न संघ–संस्थाको सहभागितामा बिहीबार धनकुटा नगरपालिका–१ हिलेमा सांस्कृतिक र्याली आयोजना गरिएको हो। र्यालीमा मगर समुदायका पुरुष, महिला र युवायुवतीहरू परम्परागत भेषभूषामा सजिएर सहभागी भएका थिए।

उनीहरूले मौलिक नाच, गीत र सांस्कृतिक झाँकी प्रस्तुत गर्दै बजार परिक्रमा गरेका थिए। र्याली पश्चात आयोजीत कार्यक्रममा कार्यक्रम कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले यस्ता चाडपर्वले नया पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउनुका साथै सामाजिक एकता र सद्भावलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले पछिल्लो समयमा आफनो सस्कार सस्कृति जर्गेर्नामा समुदाय नै लागि परेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामांगले धनकुटामा रहेका सबै जातजातीहरुले आफनो सस्कार सस्कृतीताई जोगाउन आफै लाग्नुपर्नेमा जोड दिनुभयो ।

संघले बृहत सास्कृतीक कार्यक्रमको समेत आयोजना गरेको छ । कार्यक्रममा मगर समुदायका मौलिक संस्कृति, परम्परा र पहिचान झल्कने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

माघे सकराती मगर समुदायका लागि विशेष पर्व मानिन्छ, जसलाई चेलिबेटीको चाडका रूपमा मनाउने परम्परा छ। यस अवसरमा मगर जातिका कुलदेवता तथा पुर्खाको पूजाआजा गरिन्छ। माघे सकरातीको दिन बिहान दाजुभाइहरूले स्नान गरी कुल–कुलायनको पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाई दानदक्षिणा तथा उपहार दिने चलन छ।तरुल, फलफूल, सेल, तरकारीलगायत परिकार मिलाएर बनाइने उपहारलाई मगर समुदायमा ‘मिश्रा’ वा ‘निस्रो’ भनिन्छ।








