२६ पुस २०८२, शनिबार | Sat Jan 10 2026

Radio Khabar Palika

पर्यटनको अवधारणगत चिनारी तथा धनकुटामा पर्यटन विकासका अभ्यास, सम्भावना र चुनौतीहरु



टीकाराम लिंखा

उपप्राध्यापक, त्रि.वि.वि. भूगोल

बिषय प्रवेश

मानिस स्वभावैले गतिशिल हुन्छन् र यही गतिशिलताले मानिसहरु एकठाउँमा मात्रै बसिरहन सक्दैनन् । प्रत्येक मानिसहरुका आ आफ्नै विभिन्न प्रकारका लक्ष्य, उदेश्यहरु  रहेका हुन्छन् र ति लक्ष्य उदेश्यहरु पुरा गर्ने प्रयोजनका लागी मानिसहरु एकस्थानबाट अर्को स्थानमा जाने आउने गरिरहन्छन् । यसरी कुनैपनि मानिसहरु एक स्थानबाट अर्को स्थानमा आउने जाने प्रक्रिया प्राचिन समयदेखी वर्तमान सम्म चलिरहेको छ । वर्तमानको आधुनिक कालमा त झन् मानवीय गतिशिलता अझै बढेको छ । यसरी मानिसहरु एउटै देशको कुनै एक ठाउँबाट अर्को ठाउँ र एकदेशबाट अर्को देशमा भ्रमण गर्ने गर्दछन् । यसरी भ्रमण गर्ने व्यक्तिलाई पर्यटक (Tourist) भनिन्छ भने यससँग सम्बन्धित कार्य तथा व्यापारलाई पर्यटन (Tourism) भनिन्छ (राई, २०६९) । खासगरी आनन्द र मनोरञ्जनको लागि विभिन्न स्थानहरुको यात्रा गर्नुलाई भ्रमण (Tour) को रुपमा लिईन्छ । यो भ्रमण (Tour) शब्द ल्याटिन भाषाको (Tournus) बाट आएको हो जसको अर्थ त्यस्तो सामाग्री/उपकरण जसले वृत्तकार बनाउदछ (A tool for making a circle) भन्ने हुन्छ अर्थात एकठाउँबाट शुरुभई पुन सोही ठाउँमा पुगेर समाप्त हुन्छ भन्ने हो । यसरी जुन स्थानबाट यात्राको शुरुवात गरिन्छ, केही समयको आनन्द र मनोरञ्जन लिईसकेपछी पुन पहिलेकै स्थानमा पुगेर टुंगिने यात्रा नै पर्यटन हो  (लिंखा, २०७४) । यसैगरी भाटिया (१९९७) का अनुसार पर्यटनलाई बुझाउने अंग्रजी शब्द ‘Tourism’ को १९ औं शताब्दीमा मात्रै विकसित भएको हो र फ्रान्सेली शब्द ‘Toursme’ बाट अंग्रेजीमा Tourism भन्ने शब्दले व्यापकता पाएको हो । संयुक्त राष्ट्रसंघिय विश्व पर्यटन संगठन (UNWTO), २०१९ ले आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै कुनै उदेश्यले चौविस घण्टाभन्दा बढी समय र लगातारको एकबर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटन भनिन्छ भने यस्ता पर्यटकहरुलाई घुमाउने, आवासको व्यवस्था गर्ने, यातायातको व्यवस्था मिलाउने, दृश्यावलोकन आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन भनिन्छ भनि उल्लेख गरेको छ । यि केही विद्धानहरुको परिभाषालाई नियाल्दा सङ्क्षेपमा  पर्यटन भन्नाले आनन्द, मनोरञ्जन, ज्ञानप्राप्ति, धार्मिक आदि उदेश्यले आफ्ना नियमित बासस्थानभन्दा बाहिर गरिने निश्चित समय अवधीको यात्रा र गतिविधी भन्ने बुझिन्छ जसले आर्थिक सामाजिक सांस्कृतिक वातावरणिय पक्षहरुलाई प्रभावित पारेको हुन्छ ।

पर्यटनले मानिसहरुलाई आनन्द र मनोरञ्जनमात्रै होईन नयाँ कुराको अनुभव र जानकारी (सिकाई) समेत गराउँदछ । त्यसैले पर्यटन मानवका लागि अनन्त यात्रा हो, जसको कहिल्यै अन्त्य हुँदैन । २१ औ शताब्दिको मानिसहरुका लागि त यो विकल्परहित बाँच्ने र रमाउने आधार बन्दै गएको छ । सूचना, संचार, यातायात र प्रविधिको विकासले वर्तमान युगमा पर्यटनलाई अझ व्यापक एवं बृहत् बनाएको छ । आज पर्यटन उद्योगलाइ तेल पछाडीको दोस्रो ठूलो उद्योगको रुपमा लिइन्छ ।

अनुपम साँस्कृतिक तथा प्राकृतिक तथा प्राकृतिक सम्पदाको धनी देश नेपाल पर्यटनका लागि प्रसस्त संभावना भएको मूलुकका रुपमा पर्दछ । विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिको संगमस्थलको रुपमा रहेको नेपाल कला, संस्कृति एवं धार्मिक सद्भावको लागि पनि विश्वमा नै नेपाल उदाहरणीय राष्ट मानिन्छ । यी विद्यमान कला, संस्कृति र सभ्यताको संरक्षण र सम्बद्र्धन गर्दै आर्थिक उन्नति हाँसिल गर्न नेपालमा पर्यटन क्षेत्रको ठूलो महत्व छ । पर्यटन उद्योगलाई ग्रामिण तहसम्म विकास र विस्तार गर्न सकिएमा सामुदायिक पर्यटन विकासको माध्यमबाट सन्तुलित एवं समावेसी विकास हाँसिल हुन सक्ने र यसबाट गरीबि न्यूनिकरणमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने सम्भावना रहन्छ ।

अध्ययन विधी तथा सामाग्री

यो लेख वर्णनात्मक ढाँचामा तयार गरिएको छ । यसका लागि धेरैजसो माध्यमिक तथ्याङ्कलाई प्रयोग गरिएको छ यद्यपि कतिपय सूचनाहरु प्राथमिक स्रोतबाट समेत लिएर तयार गरिएको छ । धनकुटामा भएका विभिन्न पर्यटकिय श्रोतहरुको सूचनाहरु विभिन्न प्रतिवेदन, लेख तथा पुस्तकहरुमा लेखिएको भएतापनि ति सवैमा एकरुपता कायम भएको देखिँदैन त्यसैले धनकुटा जिल्लाभर भएका पर्यटकिय श्रोतहरुको बारेमा समेट्ने सानो प्रयास गरिएको छ । पर्यटकिय दृष्टिकोणको प्रचुर सम्भावना भएको धनकुटा जिल्लामा यतिमात्रै श्रोतहरु होईनन् तरपनि हालसम्म पर्यटकिय क्रियाकलापहरु भईरहेको आधारमा केही श्रोतहरुको पहिचान गरिएको छ । यि श्रोतहरु पहिचान गर्ने क्रममा जिल्ला पाश्र्वचित्र धनकुटा, धनकुटा जिल्लाको पर्यटन गुरुयोजना, धनकुटा जिल्लाका स्थानिय सरकारले प्रकाशन गरेका पाश्र्वचित्र तथा योजना कितावहरु प्रयोग गरिएका छन् । यसका अलवा लेखक स्वंयको यस जिल्लामा रहँदा र धनकुटा जिल्लाको स्थलगत सर्वेक्षणको अनुभव र ज्ञानलाई समेत उत्तिकै प्रयोग गरिएको छ ।

नेपालमा पर्यटनको विकासक्रम

पर्यटनको विकासक्रम मानव उत्पत्तिसँग जोडिएको छ । मानव ईतिहाँसको शुरुमा जङ्गलमा बस्ने मानिसहरु आफ्नै दैनिक आवश्यकता पूरा गर्नका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दथे । हिडेरै उनिहरु एकठाउँबाट अर्को ठाउँ पुग्दथे । जनसङ्ख्याको बृद्दिसँगै मानव सभ्यतामा नयाँ आयामहरु थपिए र मानवीय समस्याहरु बढ्न थाले । मानिसहरु घुमन्ते स्वभावबाट स्थायी बसोबास र कृषि व्यावसायप्रति आकार्षित भए । मानिसहरु ढुङ्गेयुगबाट कृषियुगतिर लम्किए । प्राचिनकालमा धर्म र व्यावसायको विकाससँगै मानिसहरुले यात्राको शुरुवात गरे । तीर्थाटन वा पुण्य एवम् धर्म कमाउनका लागि धार्मिक महत्वका ठाउँ वा तीर्थस्थलसम्म जाने आउने काम भयो । त्यसरी नै व्यावसायिकताको विकासले मानिसहरु व्यापारिक उदेश्यले बजारको खोजीगर्न थाले, जसका लागि टाढा–टाढा सम्मको यात्रा हुन थाल्यो । त्यसबेला यात्रा आनन्द, रमाइलो वा मनोरञ्जनका लागि नभई आवश्यकता परिपूर्तिका लागि हुन्थ्या (पुरी, २०५६) । नेपालमा सन् १९५० भन्दा अगाडी राणहरुको जहाँनिय नितीको कारणले अन्तराष्टिय सम्पर्कबाट अलग रहेको थियो, यद्यपी राणहरुको अनुमतिमा केही सिमित विदेशी व्यक्तिहरुले नेपालको भ्रमण गरेका थिए (भण्डारी, २०२२) । नेपालको पर्यटनको विकासलाई अध्ययनमा सहजता होस् भन्नका लागि निम्न चरणहरुमा विभाजन गर्ने गरिएको छ :

प्राचिन समयमा पर्यटन

नेपालमा प्राचिन समयमा विभिन्न स्वरुपमा पर्यटनको विकास भएको पाइन्छ । खासगरी बुद्दिष्ट पौराणिक कथा अनुसार काठमाण्डौंमा सबैभन्दा पहिलोपटक मञ्जुश्री आएका थिए र उनले नै काठमाण्डौं खाल्डोको पानी आफ्नो शक्तियुक्त तरवारले चोभारमा काटी त्यहाँबाट पानीको निकासा गराई उपत्यकामा मानव वसोबास गर्न लायकको बनाएको किम्बदन्ति पाईन्छ । त्यस्तै सम्राट अशोक पनि नेपालमा आई लुम्विनीसम्म भ्रमण गरी अशोक स्तम्भको निर्माण गरिनुले यस सम्बन्धिको ऐतिहासिक प्रमाणका रुपमा लिन सकिन्छ (ओझा, २०१८) । उनले काठमाण्डौंको पनि भ्रमण गरेको भनिएतापनि भरपर्दो कुनैपनि प्रमाणहरु भने पाउन सकिदैंन यद्यपी उनी लुम्विनीसम्म पुग्दा काठमाण्डौ पनि आएको हुनसक्ने अनुमान विद्धानहरुको रहेको पाईन्छ ।   

लिच्छवि कालमा पर्यटन

लिच्छवि कालमा आएर पर्यटनमा केही थप सुधार भएको पाउन सकिन्छ । खासगरी यस समयमा नेपालकी चेली भृकुटिले तिब्बति राजा स्रङ्चेन गाम्पो -Songtsen Gampo) सँग विवाह गरेपश्चात यि दुई देशविचमा सम्बन्धको विस्तार भएको थियो र यसले नेपाललाई अन्तराष्ट्रिय परिचय दिनका लागि सकरात्मक प्रभाव पारेको थियो । यसपश्चात लामो समयसम्म नेपाल ल्हासा हुँदै चीन पुग्ने र चीनबाट ल्हासा हुँदै भारत जाने बाटो बनेको थियो, जसले गर्दा नेपालमा विदेशीको आगमन बढेको थियो । यसैगरी चीनका प्रख्यात यात्री हुयान साङ -Huien-Tsang) ले भारतको भ्रमणगर्दा नेपालको बाटो हुँदै आवतजावत गरेको हुनाले समेत नेपालमा पर्यटनको विकासको क्षेत्रमा कोशेढुंगा बन्न पुगेको देखिन्छ । यस्तैगरी प्रधान (१९९८) ले लिच्छवि कालमा नेपालमा आएका विभिन्न बौद्ध भिक्षु र धर्मप्रचारकहरु जस्तै शान्तरक्षित (Shantarakshit), पद्मा सम्भव (Padma Sambhav) , कमलशिल (Kamalsheel) आदिले नेपालको भ्रमण गरेकोले लिच्छवीकालमा नेपालमा पर्यटन विकासको क्षेत्रमा थप प्रगति भएको देखिन्छ ।  

मध्यकालमा पर्यटन

लिच्छविहरु पछि मल्ल राजाहरुले नेपालको शासन गरे र यस मल्लकाललाई मध्यकाल पनि भनिन्छ । यस समयमा खासगरी नेपालको बाटो हुँदै तिब्बतमा क्रिश्चियन धर्मको प्रचारप्रसारको लागि विभिन्न मिसनरीहरु आवतजावत गर्दा नेपालमा पर्यटकहरुको आगमान तथा पर्यटन क्षेत्रको विकास भएको पाईन्छ । नेपालमा समेत विभिन्न विदेशीहरुले क्रिश्चियन धर्मका प्रचारका लागि भ्रमण गरे जसलेगर्दा थप पर्यटकहरुको आगमन भयो । खासगरी जयप्रकाश मल्लको पालासम्म विभिन्न मिसनरीहरु नेपालका आएका प्रमाणहरु रहेका छन् । सबैभन्दा पहिले राजा लक्ष्मी नरसिंह मल्लाको पालामा पोर्चुगलबाट जुआन काब्राल पहिलोपटक नेपाल आएका थिए (भण्डारी, २०२२) ।

आधुनिक कालमा पर्यटन

पृथ्वी नारायण शाहाले सन् १७६७ मा नेपालको एकिकरण गरेपछि पर्यटनको आधुनिककाल मान्न सकिन्छ । उनको शासनकालभर नेपाल बाह्य व्यक्तिहरु खासगरी युरोपियनहरुका लागि बन्दजस्तै रह्यो । आधुनिक नेपालमा औपचारिक पर्यटनको शुरुवात सन् १९७२ मा विलियम कर्क प्याट्रिकको मिसनमार्फत भएको हो । कर्क प्याट्रिकको नेपाल भ्रमणको खास उदेश्य सैनिक प्रयोजन भई उनले नेपालको विभिन्न प्रकारको तथ्याङकहरु संकलन गर्नु रहेको थियो र यसरी सङ्कलित तथ्याङकको सहयोगमा उनले “An Account of the Kingdom of Nepal” नामक पुस्तक लेखे र उनको यस पुस्तकले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने काम गरेको थियो (खतिवडा र दाहाल, २०१०) । त्यस्तैगरी जङ्गबहादुर राणाले सन् १८५० देखि १८५१ सम्म बेलायतको भ्रमण गरे, जसबाट नेपाललाई पश्चिमा देशहरुसँग परिचित गराउने महत्वपूर्ण भूमिका रह्यो । त्यसपछि तुरुन्तै सर ब्रेन हडसन् (Sir Brian Hudgson) र जोसेफ हुकर (Sir Joseph Hooker) ले नेपालको भ्रमण गरे । त्यस्तै राणा प्रधानमन्त्रि विर शमशेरका पालमा फ्रेन्च विद्धान सिल्भा लेभी (Silva Levy) ले समेत नेपालको भ्रमण गरी उनले फ्रेन्च भाषामा नै “हिन्दुराज्य नेपाल” भन्ने पुस्तक लेखे जुन पुस्तकलाई पछि डिल्लीराम उप्रेतिले नेपालीमा अनुवाद गरे (ओझा, २००८) । यस पुस्तकले फ्रान्समा समेत नेपाललाई चिनाउन भूमिका निर्वाह गर्यो ।  यि उपलब्धीहरुको बावजुद राणहरुले नेपाललाई सन् १९५० सम्म बाहिरी प्रभावबाट अलग राखे ।

सन् १९५० पछाडी जव जहाँनिय राण शासनको अन्त्य भयो तव नेपालमा बाह्य पर्यटकहरु समेत आवतजावत गर्न शुरुवात गरे । सन् १९५० मा स्विस भूगर्भविद टोनी हेगन (Tony Hagen) स्विस विकास मिसनसँग नेपाल आए र उनलाई नेपाल सरकारद्वारा सन् १९५२ मा नेपालको भूगोलको खोजी गर्ने र नक्साङ्कन गर्ने प्रयोजनका लागि नियुक्ति गरियो । थोमस कुक कम्पनीलाई नेपालमा पर्यटक पठाउनका लागि राजा महेन्द्रले निमन्त्रणा गरेका रुसी होटल व्यवसायी वोरिस लिसानेभिच (Boris Lisanevich) लाई नेपालले पहिलो पर्यटन भिसा जारी गरेको थियो । उनले नै होटल रोयलको स्थापना गरे र पर्यटकहरुलाई खानपानको शुरुवात गरे  (ओझा, २०१८) । वास्तवमा प्रसिद्ध भूगर्भशात्रि टोनी हेगनले नै नेपाललाई एसियाको स्विटजरल्याण्ड भनि अन्तराष्ट्रिय रुपमा चिनाएका थिए । यस्तै गरी फ्रेन्च नागरिक Maurice Herzog अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने प्रथम व्यक्ति बन्न पुगे भने नेपालका तेञ्जीङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ का दिन संसारकै अग्लो चुचुरो सगरमाथामा पहिलो पाईला राख्ने मानवहरु बन्न पुगे (ओझा, २०१८, राई, २०६९) । यसपश्चात सन् १९५६ मा राष्ट्रिय पर्यटन परिषदमार्फत प्रथम पञ्चबर्षिय योजनामा पर्यटन विकासका योजनाहरु समेत समेटिएका थिए । त्यस्तै सन् १९५८ मा तत्कालिन शाहि नेपाल वायु सेवा निगमको स्थापना भएपछि नेपाल अन्तराष्ट्रिय युनियन ट्राभल संगठनको सदस्य समेत बनेपछि नेपालमा पर्यटन विकासको क्षेत्रमा थप उन्नति भएको पाईन्छ । सन् १९६० को दशकमा नेपालबाट भारतका विभिन्न सहरहरुमा नेपाली र भारतिय वायु सेवा निगममार्फत प्रत्यक्ष जोडिन पुग्यो । पर्यटकिय गतिविधीका लागि ट्राभल एजेन्सिको महत्वपूर्ण भूमिका हुने भएकोले कर्णेल जिम्मी रोवर्टले स्थापना गरेको माउन्टेन ट्राभल नेपाल (Mount Travel Nepal) नामक ट्राभल एजेन्सि नेपालमा सबैभन्दा पहिलोपटक स्थापना भएको ट्राभल एजेन्सि हो र उनले नै चितवन राष्ट्रिय निकुञ्जमामा टाईगर टप्स रिसोर्टको समेत स्थापना गरे । फलस्वरुप उनलाई नेपालको ट्रेकिङ् (‍पैदल यात्रा) को पिता (Father of trekking in Nepal) भनि चिनिन्छ  (खतिवडा र दाहाल, २०१०) । सन् १९६०-७० को दशकमा नेपाल हिप्पीहरुको लागि आकार्षणको केन्द्र बन्न पुग्यो र सन् १९७२ मा जर्मन सहयोगमा नेपालको पर्यटन गुरुयोजना निर्माण भयो र जसबाट नेपालमा आर्थिक विकासको एक पक्षको रुपमा पर्यटनलाई लिन थालियो ।

धनकुटामा जिल्ला र पर्यटन

धनकुटा जिल्ला लुम्वासुम्वा हिमालदेखि तमोरनदीको मूलघाटसम्म फैलिएको मिल्केडाँडाको दक्षिणीभागमा अवस्थित तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल र सङ्घीयता कार्यान्वयन पश्चात कोशी प्रदेश अन्तरगत पर्ने यो जिल्ला नेपालको अन्य पहाडी जिल्लाहरु जस्तै वेंसि, भञ्ज्याङ् र देउरालीहरुले बनेको छ । दक्षिणपट्टिका समथर भाग मोरङ् तथा सुनसरी जिल्लाहरुबाट क्रमशः अग्लिदै गएको यो जिल्ला पूर्वमा तेह्रथुम, पश्चिममा भोजपुर हुँदै उत्तरको संखुवासभा जिल्लासम्म फैलिएको छ । दक्षिण पूर्वको सीमानामा स्थित छ नं बुधबारे, दक्षिण पश्चिमको छिन्ताङ् तथा उत्तरको चानुवालाई हेर्दा धनकुटा जिल्ला तिनकुने परेर उत्तर दक्षिण लम्विएको देखिन्छ ।

यस जिल्लाको भौगोलिक स्थिति सुचना विभागद्वारा वि.स. २०३९ सालमा प्रकाशित ‘मेचिदेखि महाकाली’ भाग १ पुस्तक अनुसार २६° ५२¢ देखि २७° १९¢ उत्तर अक्षांश र ८७° ०८¢ देखि ८७° ३३¢ पूर्व देशान्तर रहेको छ र क्षेत्रफल ८७१ वर्ग कि.मी. प्रस्तुत गरिएको छ । तर धेरैजसो प्रकाशनहरू तथा तत्कालिन जिल्ला विकास समितिको कार्यालयद्वारा प्रकाशित जिल्ला पार्श्वचित्र धनकुटा (२०६६) मा यस जिल्लाको क्षेत्रफल ८८७.७ वर्ग कि.मी. उल्लेख भएको पाइन्छ भने तत्कालिन केन्द्रिय तथ्याङ्क विभाग (हाल राष्ट्रिय तथ्याङ्का कार्यालय) ले यस जिल्लाको क्षेत्रफ ८९१ वर्ग कि.मी. उल्लेख गरेका छन् (केन्द्रिय तथ्याङ्क कार्यालय, २०१४) । त्यस्तै हालको धनकुटा जिल्लाका सबै स्थानिय तहहरुको क्षेत्रफललाई जोड्दा यस जिल्लाको क्षेत्रफल ९०१.१ देखिन्छ (सङघीय मामिला तथा स्थानिय विकास मन्त्रालय, २०७४) । यसले गर्दा सम्बन्धित निकायले यसको निरुपण समेत गर्नु आवश्यक रहेको देखिन्छ ।   

नेपाल एकीकरण हुनुअघि हालको धनकुटा जिल्लाको भू–भाग पल्लो किरात राज्य अन्तरगत पर्दथ्यो भनी जिल्ला पार्श्वचित्र धनकुटा (२०६६) मा उल्लेख गरिएको छ । तत्कालिन समयमा प्रशासनिक सरलताको लागि पल्लो किरातलाई विभिन्न थुमहरुमा विभाजन गरिएको थियो ।  बोलचालमा १० लिम्बूवान, १७ थुम भन्ने चलन भएतापनि पल्लो किरातमा २३ वटा थुमहरु रहेको पनि तर्क गरेका छन् (मावुहाङ्ग, २०६९) । पृथ्वी नारायण शाहाले काठमाडौं पूर्वका राजा रजौटा विजय गरी नेपालमा समावेश गरेदेखि धनकुटा गौंडा नामले प्रसिद्ध हुँदै आएको यो ठाउँ पञ्चायती व्यवस्थाको शुत्रपात पश्चात २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिदा धनकुटा जिल्ला हुनपुग्यो । यसरी विभाजन गर्दा तत्कालिन छथर पश्चिम, धनकुटा, खाल्सा, मिक्लुङ्, चौबिसे र झलहारा गरी छ थुम गाभेर धनकुटा जिल्ला बनाइयो । श्री ५ विरेन्द्रबाट २०२९ सालमा नेपाल अधिराज्यलाई ४ विकास क्षेत्रमा परिणत गरेपछि यो जिल्ला पूर्वाञ्चल विकास क्षेत्र अन्तरगतको एक जिल्ला र धनकुटा बजार पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकामको रुपमा स्थापना भयो ।

धनकुटामा पर्यटन गतिविधीको शुरुवात कहिलेबाट भयो भन्नेकुराको वास्तविक अभिलेख पाउन कठिन कार्य हो किनकी मानिसहरु परापूर्वकालबाट नै एक स्थानबाट अर्को स्थानमा जावतजावत गर्ने कार्यमा संलग्न थिए । धनकुटामा रहेका प्रसिद्ध धार्मिक स्थलहरुमा परापूर्वकालबाट नै छिमेकी गाउँबाट मानिसहरु आउजाने गर्ने गरिएको नै थियो । यतिमात्रै नभई धनकुटा हुँदै पूर्वि पहाडी जिल्लाहरु जस्तैः तेह्रथुम, भोजपुर, संखुवासभाको सम्पूर्ण र पाँचथर र ताप्लेजुङ् जिल्लाका केही भागका मानिसहरुको लागि तराई तर्फ जानेआउने एकमात्रै बाटो (पैदल) भएकाले समेत यस जिल्लामा पर्यटकिय गतिविधीहरु प्राचिन समयबाट नै भएको हुनसक्छ । धनकुटा जिल्ला पार्श्वचित्र २०६६ अनुसार वि.स. १९४२ मा जव शाहाकालिन १० वटा जिल्लाहरुलाई मारिमार्जन गरि ३२ जिल्लामा रुपान्तरण भयो र यसरी रुपान्तरण हुँदा पूर्वि भागको शासन व्यवस्थाका लागि एकजना बडाहाकिम सहित पश्चिममा डोटी र पाल्पा झैँ धनकुटा पनि गौंडा बनाईएको थियो । धनकुटा अन्तरगत पूर्व १ नम्वर, २ नम्वर, ३ नम्वर, ४ नम्वर, इलाम र धनकुटा गरी ६ वटा जिल्लाहरु पर्ने भएकाले धनकुटा ठूलो प्रशासनिक केन्द्र बन्न पुगेकोले त्यसैबेला देखि नै धनकुटामा विभिन्न स्थानबाट मानिसहरु आवतजावत गर्न थालेको हुनुपर्दछ । त्यस्तै वि.स. २०१२ सालमा तत्कालिन धनकुटा डिग्री कलेजको स्थापना भयो र सो समयबाट यस जिल्लामा अन्य जिल्ला र नजिकैको गाउँहरुबाट मानिसहरु आउजाउ गर्न थालेका अनुमान गर्न सकिन्छ । त्यसपछि वि.स. २०२९ सालमा धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम भएपछि यस थप पर्यटकहरु बढेको अनुमान गर्न सकिन्छ । विभिन्न समयमा धनकुटामा भएका राजाको भ्रमण तथा अन्य निजीक्षेत्रको सभा सम्मेलनहरु (जस्तै जेसिसको साधारण सभा) समेतले यस जिल्लामा पर्यटन विकासको विजारोपण भएको हो ।

सन् १९७६ बाट बेलायत सरकारको ODA (British Overseas Development Administration) सहयोग मार्फत कोशि राजमार्ग बनाउन सुरुवात गरी सन् १९८१ (वि.स. २०३७) मा धनकुटा, १९८२ (वि.स. २०३८) मा हिले, १९८५ (वि.स. २०४१) मा सिंधुवा र १९८८ (वि.स. २०४४) मा बसन्तपुरमा सडक पुगेको देखिन्छ (भिर्गो र सुव्बा, १९९४) । यस परियोजनाले धनकुटा सहित अन्य पूर्वि पहाडी जिल्लाहरुमा तत्कालिन Koshi Hills Area Rural Development Program (KHARDEP) परियोजनाले थुप्रै विकासका कार्यहरु गरेको हुँदा यसले केवल धनकुटा जिल्लामात्रै नभई पूर्वि पहाडी जिल्लाहरुमा नै पर्यटन ब्यवसायको समेत विकास हुनपुगेको देखिन्छ ।

धनकुटा जिल्लाका पर्यटनका श्रोतहरु

प्राकृतिक तथा साँस्कृतिक रुपमा नेपाल एक विविधता युक्त (Diverse) देश हो । नेपालको यस प्रकारको विविधता (Diversity) देशका विभिन्न भागमा पाइन्छ । धनकुटा जिल्लामा पनि विविधतायुक्त प्राकृतिक तथा साँस्कृतिक श्रोतहरु छन् जसलाई पर्यटनका लागि आकर्षणका रुपमा लिइन्छ । यस जिल्लामा लेकवेसी, नदीनाला, उपत्यका, झरना, ढुङगेभीर, अग्ला पहाडी थुम्का आदीका साथै उचाईको आधारमा पाइने वनस्पती र जिवजन्तुहरु पाइन्छन् । त्यसैगरी धनकुटामा क्षेत्री, बाम्हण, दलित जस्ता जात र राई, लिम्बु, मगर, आठ पहरिया, याक्खा, माझी, जातीहरुको बसोबाससंग जातिय संस्कृतिमा समेत विविधता (Cultural Diversity)  रहेको पाईन्छ । विविधता यूक्त प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु (Natural and Cultural Heritages) यस क्षेत्रका महत्वपूर्ण पर्यटन आकर्षणका श्रोतहरु हुन । केही पर्यटकिय श्रोतहरु यहाँ उल्लेख गरिएको छ र विशाल पर्यटनको सम्भावना भएको जिल्लामा यतिमात्रै नभई अन्य धेरै श्रोतहरुसमेत रहेका छन् । हाल पर्यटकिय गतिविधि भइरहेका केही उदाहरणहरुमात्रै यहाँ उल्लेख गरिएको छ ।

तालिका १: धनकुटा जिल्लाका केही पर्यटकिय श्रोतहरु

चौबिसे गाउँपालिका
सि.नंपर्यटकिय श्रोतहरुस्थानविशेषता
. प्राकृतिक श्रोतहरु
मिक्लाजुङ डाँडाचौबिसे गा.पा. १, छ नं बुधबारेदृश्य अवलोकन, कोशि प्रदेशका सबै जिल्लाहरु देख्न सकिने, जैविक विविधताको अवलोकन ।  
काङ्गडा पोखरीचौबिसे गा.पा. १, छ नं बुधबारेधार्मिक स्थल, पोखरीको दृश्या अवलोकन ।
जेफाले टावरचौविसे गा.पा. ८, बसन्तटार धनकुटा र मोरङ जिल्लाको सिमानामादृश्य अवलोकन, सूर्योदय तथा सूर्यास्तको दृश्य, पार्क, वनभोज स्थल । 
राजारानी उपत्यका, रानी ताल, नागवेली पार्कचैविसे गा.पा. ६, राजारानीडुङ्गा सयर, दृश्य अवलोकन, शितल र शान्त वातावरण ।
गढीथुम्का (जोगीडाँडा)चौविसे गा.पा. ५, बोधेदृश्य अवलोकन, पार्क तथा वनभोज स्थल ।
. साँस्कृतिक श्रोतहरु
बुढासुब्बा थान  चौविसे गा.पा. ८, बसन्तटार, तुवारुवा भिरधार्मिक तथा ऐतिहासिक, हालसम्मपनि प्राचिनकालमा बुढासुब्बाले हानेको मट्याङग्रा पाईन्छ भन्ने विश्वास ।
खाल्डे शिद्ध देवीथानचौविसे गा.पा. ७, मौनाबुधुक खाल्डेप्राचिन धार्मिक स्थल र देवस्थल भएको र यहाँको दर्शन गरेमा आर्थिक समृद्धि र सन्तान नहुनेहरुको सन्तान प्राप्ति हुने जनविश्वास छ ।
छरुवा त्रिवेणी शिवालयचौविसे गा.पा. ५, बोध  हंसमोरङ नजिकै छरुवा, रघुवा र तमोर नदिको संगम स्थलतमोर नदि र यसले सृजना गरेको बेँशिको दृश्य,  धार्मिक तथा सांस्कृतिक महत्व र माघे संक्रान्तिमा मेला  ।  
बज्रमाई गुफाचौविसे गा.पा. ५, बोधे माईथानकरिव १५ मि. लामो गुफा रहेको छ ।  जब खडेरी पर्दछ तव यसस्थानमा पानी मागेमा पानी आउँछ भन्ने मान्यता रहेको । स्थानिय किम्बदन्ति अनुसार पहिले पहिले यस गुफाबाट पसेर राजारानीमा निस्कन सकिने कुरा बताउँछन् ।
हाङ्सेमलुङचौविसे गा.पा., ५ बोधे, हंसमोरङ१० लिम्बूवानका राजाहरु छुट्टिदा ढुंङ्गा गाडेको स्थान ।
साँगुरीगढि गाउँपालिका
. प्राकृतिक श्रोतहरु
शैलुङग डाँडा (चार्ल्स प्वाइन्ट)     साँगुरीगढी गा.पा. ६, भेडेटारदृश्य अवलोकन, शितल र चिसो हावापानी, कोशी प्रदेशको धेरै जिल्ला र हिमाली श्रृङ्खलाहरुको मनमोहक दृश्य देख्न सकिने ।  
लोप्पेडाँडा (टावरडाँडा)साँगुरीगढी गा.पा. ६, नाम्जेदृश्य अवलोकन, नेपाल टेलिभिजन, टेलिकम लगायत दर्जनौ टावरहरु रहेको ।
धजेडाँडासाँगुरीगढी गा.पा. ५, डाँडाबजारदृश्य अवलोकन तथा सुर्यौदय र सूर्यास्ताको दृश्य देखिने, कोशी प्रदेशको सबैजसो जिल्ला देख्न सकिने, २०४७ मि. उचाईमा रहेको,  हाईकिङको लागि उपयुक्त ।
ठूलो (एसियाको) बरको रुख  साँगुरीगढी गा.पा. ५, लाप्चेटारएसिया महादेशकै सबैभन्दा ठूलो बरको रुख, जिल्ला पार्श्वचित्र २०६६ अनुसार यस रुखको फेदको गोलाई १७ मिटर रहेको ।
नमस्ते झरनासाँगुरीगढी गा.पा. ६, मलबाँसेझरनाको दृश्य अवलोकन, चिसो र शितल अनुभूति र प्राकृतिक जंगलको अवलोकन ।
. सांस्कृतिक श्रोतहरु
पाथीभरादेवी मन्दिर  साँगुरीगढी गा.पा. ६, भेडेटारप्रख्यात धार्मिक मन्दिर, ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीको प्रतिकको रुपमा स्थापना भएको, भेडेटारबाट छोटो दुरीको पैदल यात्राको लागी उपयुक्त ।
साँगुरीगढी/साँगुरीयोकसाँगुरीगढी गा.पा. ६, साँगुरीगढीप्राचिन ऐतिहासिक स्थान तथा गढीको अवलोकन, प्राचिन शासनकेन्द्र ।
विष्णु मन्दिर  साँगुरीगढी गा.पा. ५, डाँडाबजारप्यागोडा शैलिमा निर्माण भएको छैटौ शताब्दितिरको चतुर्बाहु विष्णुको प्रस्तर मूर्ति ।
जैतुन पार्कमोरङ जिल्ला केराबारी गाउँपालिकामोरङ जिल्लामा पर्ने भएतापनि यसको पर्यटकिय महत्व साँगुरीगढीमा पर्दछ ।
सिंहकाली पार्कसाँगुरीगढी गा.पा. १, लेउतिविभिन्न जातजातिहरुको संस्कार र संस्कृतिहरुको चित्रण तथा पार्क, वनभोज स्थल ।
आत्माघरसाँगुरीगढी गा.पा. ६, थुम्किआत्माघर साँगुरीगढी गा.पा. ६, थुम्कि मगर जातिको हजारौ बर्षदेखिको चिहानहरुबाट केही प्रतिनिधीमूलक ढुङ्गा जम्मा गरी एक प्रतिकात्मक घरको निर्माण, जसलाई आत्माघरको नामाङ्कन । जहाँ जसलेपनि आफ्नो मृत आत्मालाई सम्झिएर हेर्दा देखिने विश्वास ।
नाम्जेगाउँ  साँगुरीगढी गा.पा. ६, नाम्जेमगरहरुको परम्परागत बस्ति र संंसारको घुम्नलायकको स्थानहरुमा सूचिकृत हुन सफल । मगरहरुद्धारा होमस्टे संचालन भएको । मनमोहक मौलिक वस्ति ।
ओख्रे टावर साँगुरीगढी गा.पा. ५, ओख्रेदृश्य अवलोकन तथा प्राकृतिक वनस्पतिहरुको अवलोकन । केहिबर्ष अगाडी विश्वका धेरै देशहरुको झण्डा राखिएको ।
स्काईवाक् तथा जिपफ्लाएरसाँगुरीगढी गा.पा. ६ भेडेटारस्काईवाक् र जिपफ्लाएरको आनन्द लिन सकिने तथा धरान ईटहरी र बिराटनगरबाट नजिकमा रहेको शितल हावापानी भएको ।
सहिदभूमि गाउँपालिका
. प्राकृतिक श्रोतहरु  
नाउवारीखा (घुमाउने डाँडा)सहिदभुमि गा.पा., ६, चिसापानीसहिदभूमि गाउँपालिकाको सबैभन्दा अग्लो भू-भाग १६६१ मि., यहाँबाट तमोर नदिको मनमोहक दृश्य देखिने ।
त्रिवेणी क्षेत्र तथा खुवालुङसहिदभुमि गा.पा. १, त्रिवेणीप्रसिद्ध धार्मिक स्थल । अरुण तमोर र सुनकोशी नदिहरुको भेट भएको स्थान । त्यस्तै परापूर्व कालमा किरातहरु छुट्टिएको स्थल खुवालुङ समेत भएकोले विशेष महत्व । सहिदभूमि गा.पा. को सबैभन्दा कम उचाईमा रहेको क्षेत्र १६८ मि. । यससँगै गणेश मन्दिर समेत रहेको ।
. सांस्कृतिक श्रोतहरु
जालपादेवी (छिन्ताङ देवी) मन्दिर     सहिदभूमि गा.पा. ३, मूलगाउँप्रख्यात धार्मिक स्थल, धनकुटा जिल्लाकै सम्भवतः सबैभन्दा बढी मानिसहरुले दर्शन गर्ने मन्दिर ।
सिद्धथान मन्दिर   सहिदभूमि गा.पा. ६, चिसापानीभगवान शिवको समाधी स्थल भएको जनविश्वास, यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल ।
पञ्चकन्या सहिदपार्क   सहिदभुमि गा.पा. ३, पञ्चकन्याछिन्ताङ काण्डामा सहिद हुनुभएका १५ जना सहिदहरुको प्रतिमा राखिएको, छिन्ताङ काण्डको सजिव उदाहरण ।
पातल सहिद स्मारक पार्कसहिदभुमि गा.पा. २ र ३, झण्डिगढीसहिदहरुको स्मृतिमा निर्माण हुँदै गरेको पार्क, अरुण र तमोर नदीहरुको दृश्या अवलोकन गर्न सकिने ।
5टप्पुदेवी मन्दिरसहिदभुमि गा.पा. ७, चाम्चाखाल्सा क्षेत्रको प्रसिद्ध धार्मिक स्थल
धनकुटा नगरपालिका
. प्राकृतिक श्रोतहरु
साततले लुङ्धाङ गुफा   धनकुटा न.पा. १, ओक्मालुङठूलो गुफाभित्र हिड्न मिल्ने, सँगैरहेको झरनाको दृश्य, वनभोज स्थल समेत रहेको साथै पौडीखेल र रक क्लाईम्बिङको समेत संभावना  ।
चुलीवन  धनकुटा न.पा. ७, चुलिवन धनकुटाबजार नजिकै रहेको रमणिय डाँडा, बजारबाट छोटो दुरिको हाईकिङ गर्नु उपयुक्त, प्राकृतिक वनस्पतिहरुको अवलोकन, विभिन्न पार्क, मन्दिर र धार्मिक स्थलले थप सु–सज्जित । तमोर नदिको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।
मधुगङ्गा महादेव   धनकुटा  न.पा. २, भिरगाउँधार्मिक स्थल, मधुखोलामा रहेको करिव ६० फिट लामो गुफाको अन्त्यमा शिवलिङ्गलाई महादेवको प्रतिक मानि पूजा गरिन्छ । मंसिरे पूर्णिमाको दिन ठूलो मेला लाग्ने
धर्मगङ्गा कैलाश धामधनकुटा न.पा. ६, बाघेखोलाधार्मिक र ऐतिहासिक स्थल, माघेसंक्रान्तिमा ठूलो मेला लाग्ने ।
. सांस्कृति श्रोतहरु
निशान भगवति मन्दिरधनकुटा न.पा. ६, बिचबजारधनकुटाको बजारक्षेत्रमा रहेको करिब १६० बर्ष अगाडी स्थापना भएको र प्रख्यात शक्तिपिठको रुपमा स्विकार गरिएको, हाल ऐतिहासिक तोप प्रर्दशनीमा राखिएको ।
विश्रान्ति धामधनकुटा न.पा. ९, मुलघाटप्रसिद्ध तिर्थस्थल, शिवपाञ्चायन मन्दिर, ज्येष्ठ नागरिक आश्रयस्थल, शिवरात्रीमा मेला लाग्ने ।
मार्गथानधनकुटा न.पा. ५, बिहिबारेधार्मिक स्थाल, आठपहरिया राईहरुको प्रसिद्ध देवस्थल ।
उगेन छ्योलिङ गुम्वाधनकुटा न.पा. १, हिलेबौद्ध धर्मवलम्विहरुको लागि अत्यन्तै प्रसिद्ध गुम्वा, हिले आफैमा शितल र चिसो हावापानी भएकोले पर्यटकिय बजारको रुपमा विकास भएको, बजारको विचभागमा नै यो गुम्बा रहेकोले बाह्रैमहिना पर्यटकहरु आउजाउ गरिरहने ।
वक्रकुण्ड महादेव   धनकुटा न.पा. १, हिलेप्रसिद्ध धार्मिक पर्यटकिय स्थल, यो स्थानबाट अरुण उपत्यकाको दृश्य तथा चियावारीको अवलोकनका लागि समेत उपयुक्त ।
चुलीवन किरातेश्वर मन्दिरधनकुटा न.पा. ७, चुलीवनधार्मिक तथा सांस्कृतिक महत्व साथै दृश्य अवलोकन साथै यस नजिकै धान्यदेवी तथा तमोरद्धारे र किरात लिम्वू माङ्हिम समेत रहेको  ।
महेन्द्र पार्क    धनकुटा न.पा. ६, सल्लेरीऐतिहासिक पर्यटकिय स्थल, धनकुटा बजार नजिकै सल्लेरी जंगल भित्र रहेको  रमणिय स्थल, बृद्धबृद्धाहरुको लागि स्वच्छ हावा खाने विश्रामस्थल ।  
आठपहरिया गाउँधनकुटा न.पा. ८, सान्ताङ र टेकुनालानेपालको धनकुटामा मात्रै रहेको विशिष्ट प्रकारको आठपहरिया जाति र उक्त जातिको संस्कार र संस्कृतिको अवलोकन ।
चियाबगानधनकुटा न.पा.१, २ को कुवापानी तथा गुराँसेचियाबगानको दृश्य अवलोकन, साना साना गित संगितको छायाङ्कन, वनभोज स्थल ।
पाख्रिवास नगरपालिका
क. प्राकृतिक श्रोतहरु
संसारीमाई सिमसारपाख्रिवास न.पा.४, पाख्रिबासडुङ्गा सयर, चियावगानको दृश्य, पार्क र वनभोज स्थल, शितल र चिसो वातावरण ।
तिनतले ढुंगापाख्रिवास न.पा. ६, फलाँटेधार्मिक तथा ऐतिहासिका स्थल
थामडाँडापाख्रिवास न.पा. २, सान्नेअरुण नदिको नागवेली दृश्य तथा मनमोहक हिमश्रृङ्खलाहरु, पाख्रिवास र हिलेबाट हाइकिङको लागि उपयुक्त ।
ईन्देणी झर्नापाख्रिवास न.पा., ६, अँधेरीघाटझरनाको दृश्या अवलोकन
. सांस्कृतिक श्रोतहरु  
राम्चे भ्यूटावर  पाख्रिवास न.पा. ४, राम्चेडाँडादृश्य अवलोकन, अरुण उपत्यकाको राम्रो दृश्य समेत देख्न सकिन्छ । वनभोज स्थलको रुपमा विकास भइरहेको छ ।
शान्ति गुम्बा पार्कपाख्रिवास न.पा. ५, डिकुरेधार्मिक तथा दृश्य अवलोकन 
पाख्रिवास कृषि फारामपाख्रिवास न.पा., ३ फारमपूर्वि पहाडि क्षेत्रमा कृषिको ज्ञान फैलाउने केन्द्र, रमणिय स्थल, चिसो र शान्त वातावरण ।
छ्योलिङ गुम्वापाख्रिवास न.पा. ४, पाख्रिवासबौद्धमार्गिहरुको लागि प्रसिद्ध स्थान, बुद्धजयन्तिमा विशाल मेला लाग्ने ।
ङ्याङगुर गुम्वापाख्रिवास न.पा. ९, उत्तरपानीबौद्धमार्गिहरुको लागि प्रसिद्ध स्थान, बुद्धजयन्तिमा विशाल मेला लाग्ने ।
जौ–टारपाख्रिवास न.पा ३, जौटारवनभोज खाने तथा स्वच्छ र शान्त वातावरण रहेको । प्राकृतिक वनस्पति र जैविक विविधताको अवलोकन । हिलेबाट जौटार हुँदै थामडाँडा हुँदै पाख्रिवास सम्मको हाईकिङको लागि उपयुक्त ।
मुन्सि चौतारापाख्रिवास न.पा. १०, चुम्वाङऐतिहासिक महत्व बोकेको चौतारा
छथर जोरपाटी गाउँपालिका
क. प्राकृतिक श्रोतहरु
पटेक डाँडामहालक्ष्मी न.पा. १ र छथरजोरपाटी ६ लगायत तेह्रथुम जिल्लाको लालिगुराँस न.पा.को सिमानामाकोशी प्रदेशको सबैजिल्ला देख्न सकिने, सुर्योदयको रमणिय दृश्य देख्न सकिने । धनकुटा जिल्लाको सबैभन्दा उचाईमा रहेको स्थान । यसको संरक्षणमा मूलतः छथरजोरपाटी गा.पा.को प्रमुख भूमिका रहँदै आएको । सिंधुवाबाट लामो हाईकिङ तथा चित्रेबजारबाट छोटो हाइकिङ गर्न सकिने । साथै हिउँदमा हिँउ खेल्न पाइने ।
झरनाछथरजोरपाटी गा.पा. २, सल्लेझरनाको मनमोहक दृश्य अवलोकन ।  
. सांस्कृतिक श्रोतहरु
बहुसाँस्कृतिक पार्कछथरजोरपाटी गा.पा. २ र ६ को विचभागमा, जोरपाटीमगर र लिम्बू जातिको ऐतिहासिक सांस्कृतिक पहिचान हेर्न सकिने, ग्रेटवाल तथा पोखरी, पार्क ।
सिंधुवा गुम्वाछथरजोरपाटी गा.पा. ६, सिंधुवाबौद्धमार्गिहरुको प्रसिद्ध धार्मिक स्थल, बुद्ध जयन्तिका दिन मेला लाग्ने ।
बुढासुब्बा मन्दिरछथरजोरपाटि गा.पा. १, बुढासुब्बाप्रसिद्ध धार्मिक, सांस्कृतिक स्थल तथा देवस्थल ।
महादेव गुफाछथरजोरपाटी गा.पा. १, महादेवथानप्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल । 
निशानदेवी मन्दिरछथरजोरपाटी गा.पा. २, पिङ डाँडाधार्मिक तथा ऐतिहासिक स्थल, प्राचिन कालदेखि नै दशैँको फुलपातिको दिन निशानदेवी मन्दिरबाट निशान निकाली पिङ डाँडामा मौलो हान्ने, मेला लाग्ने ।
तिलेश्वर मन्दिरछथरजोरपाटी गा.पा. ४, तेलियाप्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल । 
महालक्ष्मी नगरपालिका
क. प्राकृतिक श्रोतहरु
धुवाँउने झरनामहालक्ष्मी न.पा. १, मचेपुझरनाको दृश्य तथा जैविक विविधताको अध्ययनमा उपयुक्त
लेगुवा झरनामहालक्ष्मी न.पा., २ र ३लेगुवा झरना निकै ठूलो र मनमोहक रहेको, धनकुटा जिल्ला कै ठूलो हुनसक्ने स्थानियको दावी
चित्रे पटेक डाँडामहालक्ष्मी न.पा. १ र छथरजोरपाटी ६ लगायत तेह्रथुम जिल्लाको लालिगुराँस न.पा.को सिमानामाकोशी प्रदेशको सबैजिल्ला देख्न सकिने, सुर्योदयको रमणिय दृश्य देख्न सकिने । धनकुटा जिल्लाको सबैभन्दा उचाईमा रहेको स्थान । यसको संरक्षणमा मूलतः छथरजोरपाटी गा.पा.को प्रमुख भूमिका रहँदै आएको । सिंधुवाबाट लामो हाईकिङ तथा चित्रेबजारबाट छोटो हाइकिङ गर्न सकिने । साथै हिँउसँग खेल्न पाइने ।
थामडाँडा   महालक्ष्मी न.पा. ३, डाँडागाउँदृश्य अवलोकन, धार्मिक स्थल । यहाँ बालाचतुर्दशीको दिन विशाल मेला लाग्दछ ।
ख. सांस्कृतिक श्रोतहरु
झाँक्री पार्कमहालक्ष्मी न.पा. ६, छुमलिङमनोरञ्जन स्थल, पार्क
निगाले भ्यूटावर महालक्ष्मी न.पा. ८, निगालेदृश्य अवलोकन, अरुण उपत्यकाको मनमोहक दृश्य देख्न सकिने साथै हिमश्रृङ्खलाहरु देखिने
चित्रे पोखरीमहालक्ष्मी न.पा. १, चित्रेडुङ्गा सयर, शितल र चिसो वातावरण र दृश्य अवलोकान ।
नागेश्वर मन्दिरमहालक्ष्मी न.पा. ६, नागेश्वरप्रसिद्ध धार्मिक स्थल, करिब २०० बर्ष अगाडि निर्माण भएको अनुमान । 
धर्मदेवी मन्दिरमहालक्ष्मी न.पा २, मारेकप्रसिद्ध धार्मिक स्थल, संखुवासभा जिल्लाको साविक आँखिभूँईको होम्बोङको धर्मदेवीको शाखाको रुपमा यसलाई लिइन्छ । यसको दर्शन गर्नाले मनोकाङ्क्ष पुरा हुने विश्वास रहेको ।

स्रोत: जिल्ला पार्श्वचित्र धनकुटा २०६६, धनकुटामा पर्यटन विकासः वर्तमान अवस्था २०७४, धनकुटा जिल्लाका स्थानिय तहका पार्श्वचित्रहरु तथा प्रकाशनहरु, व्यक्तिगत अन्तरवार्ता, २०८० ।

धनकुटा जिल्ला पूर्वि पहाडी जिल्लाहरुमा कोशी प्रदेशको विशिष्ट विशेषता बोकेको जिल्ला भएको हुँदा पर्यटन विकासको क्षेत्रमा धेरै सम्भावनाहरु रहेका देखिन्छन् । यि माथि उल्लिखित स्थानहरु बाहेक यस जिल्लामा ठूलो संख्यामा सानाठूला खोला र बेँशीहरु, अरुण र तमोर किनारमा रहेको फाँटहरु, ताल पोखरी, प्राचिन समय देखि प्रयोगमा ल्याइएको देवस्थल तथा रमणिय पर्यटकिय स्थानहरुपनि रहेका छन् । यहाँ विभिन्न प्रकारका प्राकृतिक तथा साँस्कृतिक विविधताहरु भएको हुँदा यस जिल्लालाई पर्यटनको लागि उर्वरा भूमि मान्न सकिन्छ । यि विविध प्रकारका सम्भवानाहरुलाई उजागर गर्नका लागि साविकको जिल्ला विकास समितिको कार्यालय धनकुटाले निर्माण गरेको प्रथम आवधिक योजनामा पर्यटन क्षेत्रलाई समेत विशेष जोड दिइएको पाइन्छ । त्यसपछि यस बिषयमा अझ विस्तृत रुपमा अध्ययन गर्न, पर्यटन क्षेत्रको सम्भावनाहरुको खोजी गर्न र पर्यटनलाई प्रर्बधन गर्नका लागि सन् २०१३ मा साविकको जिल्ला विकास समितिको कार्यालय धनकुटाले ‘धनकुटा जिल्लाको पर्यटन गुरु योजना’ समेत निर्माण गरेको छ ।

धनकुटामा पर्यटन विकासका अवसर र चुनौतिहरु

नेपाल विश्व पर्यटन बजारमा सानो क्षेत्रफल भित्र प्राकृतिक र साँस्कृतिक विविधताले सम्पन्न आकार्षक गन्तव्यको रुपमा परिचित रहेको छ । नेपालको पर्यटन क्षेत्रको विकास गरी विदेशी मुद्रा आर्जन गर्ने अवसरहरु पर्याप्त रहेका छन् भने पर्यटन विकासका आर्थिक, भौगोलिक, राजनैतिक चुनौतिहरु समेत उत्तिकै रहेका छन् । धनकुटा जिल्ला र यस क्षेत्रलाई नेपालको एक महत्वपूर्ण पर्यटकिय गन्तव्य बनाउन थुप्रै अवसरहरुका साथै पर्यटन विकासका चुनौतिहरु समेत रहेका छन् । भौगोलिक रुपमा पूर्वि नेपालको विराटनगर विमानस्थल (Biratnagar Airport) बाट छोटो समयमा चिसो र शितल हावापानी र अनुपम प्राकृतिक वनावट भएको यस क्षेत्रमा आईपुग्न सकिने अवस्था रहेको छ । पछिल्लो समयको राजनैतिक र प्रशासनिक पुर्नसंरचना र स्थानीय तहलाई प्राप्त भएको अधिकारहरुको सही उपयोग गरी यस क्षेत्रको पर्यटन विकास गर्ने अवसरहरु हाल विद्यमान रहेका छन् । आम समुदायमा क्रमशः बढ्दै गएका पर्यटन विकास चेतनाको अवस्थालाई सही ढङ्गले उपयोग गरी जनसहभागितामूलक रुपमा पर्यटन विकास गर्न सकिने अवसरहरु यस क्षेत्रमा रहेका छन् भने यस क्षेत्रबाट सुविधायुक्त शहरी क्षेत्रमा भईरहेको बसाई सराई, श्रम पलायन, बौद्धिक पलायन, उद्यमी पलायनलाई रोकी पर्यटन क्षेत्रको विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने चुनौति उत्तिकै तड्कारो रुपमा रहेको छ । यसबाहेक धनकुटा जिल्लामा पर्यटन विकासका अवसर र चुनौतिहरु देहाय बमोजिम रहेका छन्ः

अवसरहरु (Opportunities)

  • धनकुटा जिल्ला नेपालको पूर्वी तराई, विराटनगर विमानस्थल र भारतको विहार तथा पश्चिम बंगालबाट अत्यन्तै छोटो दुरीमा पर्ने भएकोले पर्याप्त पर्यटकहरु सहज ढङ्गले आईपुग्ने ।  
  • तमोरनदीको बेँशी क्षेत्रदेखि शैलुङ डाँडा, धजेडाँडा, जेफाले डाँडा लगायत मिक्लाजुङ डाँडा सम्मको छोटो दुरीको उचाई विविधता रहेको जहाँ अध्ययन लगायत दृश्य अवलोकनको लागी उपयुक्त गन्तव्य रहेको ।
  • सिएनएन जस्ता अन्तराष्ट्रिय संघसंस्थाले भेडेटार, नाम्जेगाउ क्षेत्रलाई उत्कृष्ट गन्तव्य स्थलका रुपमा पहिचान गर्नु ।
  • स्थानीय समुदायमा क्रमिक रुपमा पर्यटन प्रतिको जागरुकता ।
  • जिल्लामा मौलिक साँस्कृतिक विविधताले सम्पन्न हुनु ।
  • यस क्षेत्रको पर्यटन बजारमा विदाको समयमा घुमफिर गर्ने प्रवृत्तिको विकास हुँदैजानु ।
  • यस क्षेत्रमा भित्रीने विप्रेषण (Remittance) लाई पर्यटन विकासका क्षेत्रमा आकार्षित गर्ने अवसर रहेको ।
  • सूचना प्रविधिको अधिकतम् उपयोग गरी विश्वव्यापी रुपमा प्रचार प्रसार गर्न सकिने अवस्था रहेको ।
  • विदेशीएका नेपालीहरु खासगरी एनआरएन (NRN) मार्फत पर्यटकिय स्थलहरुको प्रचारप्रसार गराई यस क्षेत्रमा विदेशी पर्यटकहरु भित्रायउन सकिने अवस्था रहेको ।
  • प्राकृतिक पर्यटनको वृहत सम्भावना (पर्या–पर्यटन, साहाशिक पर्यटन, र्याफ्टिङ आदि) रहेको
  • केही निजी क्षेत्रले गुणस्तरिय वसोवास, पदयात्रा सम्बन्धि अनुभव हासिल गरेको अवस्था विद्यमान हुनु ।

चुनौतिहरु (Challenges)

  • स्थानीय उत्पादन उपलब्ध नहुँदा पर्यटकले उपभोग गर्ने सेवा र वस्तुको उपभोगबाट प्राप्त हुने लाभ अपेक्षित मात्रामा प्राप्त गर्न नसक्नु ।
  • प्राकृतिक पर्यटकिय स्थलहरुको सक्कल स्वरुप परिवर्तन गर्ने अभ्यासको कारणले यिनीहरुको मौलिकता र दीगोपना कायम गर्न ।
  • पर्यटन क्षेत्रमा संलग्न जनशक्ति (यातायात व्यवसायी समेत) हरुलाई उपयुक्त प्रशिक्षण प्रदान गरी स्तरिय सेवा प्रदान गर्न ।
  • जिल्लामा पर्यटन सम्बन्धिको यथेष्ट सूचना तथा जानकारी व्यवस्थित ढंगले प्रदान गर्न ।
  • पर्यटनजन्य क्रियाकलापहरुलाई वातावरणमैत्री बनाई सञ्चालन गर्न ।
  • सडक सञ्जालहरुको बाह्रै महिना दीगोपना कायम गर्न ।
  • जिल्लामा रहेका होटल तथा सञ्चालित होमस्टेहरुमा व्यवसायीकताको विकास गर्न ।
  • यस क्षेत्रमा भित्रिने विप्रेषण (Remittance) लाई पर्यटकिय क्षेत्रमा सदुपयोग गर्न ।
  • आम समुदायहरुको लागि पर्यटन शिक्षाको व्यवस्थापन गर्न ।
  • पर्यटनसँग सम्बन्धित ट्रभाल एजेन्सि, ट्रेकिङ एजेन्सी जस्ता सेवाप्रदायक संस्थाहरुको जिल्लामा स्थापनाका लागि उत्प्रेरित गर्न ।
  • पर्यटनसँग जोडिएका सामाजिक, साँस्कृतिक जोखिमहरुलाई न्यूनिकरण गर्नु ।  
  • यस क्षेत्रको समग्र पर्यटन विकासको लागि अध्ययन, अनुसन्धानको आर्थिक स्रोत र विज्ञहरुको व्यवस्थापन गर्न ।
  • यस क्षेत्रभित्र रहेका पर्यटकिय स्थलहरुको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्न ।
  • विदेशी पर्यटकहरुलाई आकार्षित गर्न तारे होटेलहरुको स्थापना गर्न ।
  • विकास निर्माणसँग सम्बन्धित स्थानीय तहहरु (स्थानीय सरकार) को बार्षिक योजनामा पर्यटकिय क्षेत्रको विकासलाई प्राथमिकतामा पार्न तथा सरकारी, गैरसकारी र निजीक्षेत्रविच समन्वय गर्न ।
  • कृषि क्षेत्रलाई व्यावसायिकरण गरी पर्यटनसँग आवद्ध गर्न ।
  • सूचना, प्रविधि मार्फत उत्कृष्ट पर्यटकिय स्थल हुन सक्ने स्थानहरुको विश्वव्यापी रुपमा व्यवस्थित प्रचारप्रसार गर्न ।
  • पर्यटन व्यसायबाट उत्पन्न हुने विकृति तथा विसंगतिहरुको व्यवस्थापन ।
  • स्थानिय तहहरुले पर्यटन गुरुयोजना निर्माण नगर्दा योजनाबद्ध पर्यटन विकास हुन नसक्नु ।

सारंश

भौगोलिक रुपमा पूर्वि नेपालको विराटनगर विमानस्थलबाट छोटो समयमा चिसो र शितल हावापानी र मनमोहक दृश्य अवलोकनका लागि सहजै यस जिल्लामा आईपुग्ने अवस्था भएको हुँदा धनकुटामा पर्यटन विकासको निकै सम्भावना देखिन्छ । यतिमात्रै होइन यस जिल्लाबाट नजिकै रहेको भारतको विहार तथा पश्चिम बंगलमा नेपालको भन्दा झण्डै चारगुना बढी जनसंख्या रहेको हुँदा उनीहरुलाई यस क्षेत्रमा पर्यटकको रुपमा आकर्षित गर्न सकिन्छ । यस जिल्लामा पर्यटन विकासका लागि आवश्यक पर्ने भौतिक संरचनाहरु समेत केही स्थानमा बनिसकेको र बन्नेक्रममा रहेको हुँदो पर्यटन पूर्वधारको रुपमा जिल्ला मजबुत नै देखिन्छ । साथै साविक जिल्ला विकास समितिको कार्यालय धनकुटाले पर्यटन गुरुयोजना समेत सन् २०१३ मा निर्माण गरिसकेको छ । नेपालको पुर्नसंरचना पश्चात त अझ स्थानीय तहहरुले स्वतन्त्र रुपमा पर्यटकिय योजनाहरु निर्माण गर्ने अधिकार र श्रोत दुवै कानूनबाट नै प्राप्त भएको छ भने जिल्लामा अदितिय पर्यटकिय उत्पादनहरु रहेका छन् । यस्तो सहज अवस्था भएतापनि वर्तमानका स्थानीय तहहरुले पर्यटन गुरुयोजना बनाएर दीगो रुपमा पर्यटन विकासको क्षेत्रमा लागेको देँखिदैन । बार्षिक योजनाका रुपमा विभिन्न गतिविधिहरुमात्रै सञ्चालन गर्दा खास उपलब्धी हासिल हुन नसक्ने यथार्थतालाई स्थानीय सरकारले स्विकार गर्न सक्नुपर्दछ र जिल्लाका सबै स्थानीय तहहरुको एकिकृत पर्यटन विकासको भिजन र कार्यक्रम नभएसम्म जिल्लामा पर्यटन विकास हुन नसक्ने कुरापनि उत्तिकै महत्वपूर्ण छ । धनकुटा जिल्ला प्राचिनकालबाट नै प्रशासनिक र शैक्षिक उदेश्यका लागि पर्यटकहरु आवतजावत गर्ने गरेकोमा हाल केही बर्षयता धनकुटाबाट यि दुवै सेवा र सुविधा अन्यत्र स्थानान्तरण भईरहेको अवस्थामा थप अन्य गतिविधीहरुको खोजी गरी पुरानो अस्तित्व स्थापित गर्न स्थानिय सरकार, सम्बन्धित निकाय र व्यक्तिहरुको योजनाबद्ध सोंच र कार्यक्रम आवश्यक रहेको देखिन्छ ।   

सन्दर्भ सूचिहरु

जिविस, धनकुटा (२०६६), जिल्ला पार्श्वचित्र धनकुटा, जिविसको कार्यालय धनकुटा ।

पुरी, उद्वव (२०५६), पर्यटन र विकास, तलेजु प्रकाशन ।

प्रधान, भुवनलाल (१९८८), नेपालमा बौद्ध धर्म, नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान ।

बैद्य, तुलसीराम (२००३), तिब्बत र नेपालमा ईटालियन धर्मप्रचारकहरु, नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान ।

मावुहाङ, बालकृष्ण (२०६९), लिम्वू जातिको मुन्धुम र ईतिहाँस, हरिशचन्द्र र भिम मावुहाङ ।

राई, ध्यानेन्द्रबहादुर (२०६९), नेपालको आर्थिक भूगोल, ट्रिनिटी प्रकाशन प्रा.लि. ।

रेग्मी, जगदिशचन्द्र (१९७०), लिच्छवि सँस्कृति, रत्न पुस्तक भण्डार ।

लिंखा, टीकाराम (२०७४), धनकुटामा पर्यटन विकास: वर्तमान अवस्था र सम्भाव्यता, अप्रकाशित अनुसन्धान प्रतिवेदन, जिल्ला विकास समिति, धनकुटा, निर्वाचन क्षेत्र विकास कार्यक्रम ।  

सुचना विभाग (२०३९), मेचिदेखि महाकालीसम्म भाग १,  श्री ५ को सरकार ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (२०७४), गाउँपालिका र नगरपालिकाको सङ्क्षिप्त परिचय, नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ।

Bhandari, A.B. (2022). History of Nepalese tourism industry. Kalika Journal of Multidisciplinary Studies. Kalika Multiple Campus.

Bhatiya, A.K. (2000). International tourism management, Starling Publication.

CBS (2014). National population and housing census 2011 (Village Development Committee/Municipality. Government of Nepal, National Planning Commission, Central Bureau of Statistics.

Khatiwada, S. P & Dahal, K. (2010). Cultural tourism of Nepal. MK Publishers and Distributors.

Kunwar, R. R. (2006). Tourists and tourism: Science and industry interface. International
School of Tourism and Hotel Management. https://lib.icimod.org/record/6609

Nest/ECOCODE Nepal (2013). Dhankuta district tourism master plan. Report submitted to District Development Committee, Dhankuta.

Ojha, N. (2008). Development of tourism in Nepal. Journal of Development Review, 44.

Ojha, N. (2018). A handbook of tourism. Oxford Store.

Virog, K.J & Subba, K.J. (1994). Land-use change between 1978 and 1990 in Dhankuta district Koshi Hills, Eastern Nepal. Mountain Research and Development, 14 (2), 159-170.

World Tourism Organization (2019). Tourism definition, UNWTO https://doi.org/10.18111/9789284420858.