१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

Radio Khabar Palika

पत्रकार महासंघ धनकुटाको स्थापना दिवसमा अनाथ बालबालिकालाई स्टेशनरी तथा फलफूल वितरण



१३ पुस,धनकुटा, । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आफ्नो ३३ औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अनाथ बालबालिकालाई स्टेशनरी तथा फलफूल वितरण गरेर मनाएको छ ।
महासंघले धनकुटा नगरपालिका–४ मा रहेको मदन आश्रित प्रतिष्ठानद्वारा सञ्चालित बालपुनःस्थापना केन्द्रमा आश्रित १३ जना अनाथ बालबालिकालाई स्टेशनरी सामग्री र फलफूल वितरण गरेको हो । २०४९ साल पुस १३ गते स्थापना भएको नेपाल पत्रकार महासंघले यस वर्ष ३३ औँ स्थापना दिवस मनाइरहेको छ ।


कार्यक्रममा स्टेशनरी तथा फलफूल वितरण गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईले पत्रकारहरू समाचार लेख्नेमात्र नभई समाजप्रति जिम्मेवार भएर सहयोगी भूमिकामा पनि सक्रिय रहने सन्देश दिन खोजिएको बताए । उनले पत्रकारिता पेशासँगै सामाजिक सेवामा पनि महासंघको निरन्तर सहभागिता रहने उल्लेख गरे । त्यस अवसरमा बालपुनःस्थापना केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष गोपाल गुरागाईंले केन्द्र सञ्चालन सानो–सानो सहयोगमै निर्भर रहेको बताउँदै पत्रकार महासंघ धनकुटाको सहयोगले बालबालिकालाई ठूलो राहत मिलेको प्रतिक्रिया दिए । उनले महासंघप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले केन्द्र सञ्चालनमा हौसला थपिने बताए । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको स्थापना २०४९ साल पुस १३ गते सञ्जयसन्तोषी राईको अध्यक्षतामा भएको थियो । तत्कालीन संस्थापक कार्यसमितिमा विष्णुमान श्रेष्ठ, गोपाल अधिकारी, टंकबहादुर राई, राजकुमार दिक्पाल, रमेश अमात्य, लाखमान राई, विजयसन्तोषी राई, सरोज श्रेष्ठ, सूर्यकुमार श्रेष्ठ, देवराज घिमिरे, नविन राई र शारदासन्तोषी राई सदस्य रहेका थिए । संस्थापकहरूमध्ये विष्णुमान श्रेष्ठको निधन भइसकेको छ । महासंघको स्थापना दिवसको अवसरमा स्टेशनरी तथा फलफूल वितरणसँगै साँझ दिप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले जानकारी दिए ।