
पुस ९ धनकुटा । नेपाली सेनाले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा सुनसरी र धनकुटा जिल्लाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली सेनाको पूर्वी पृतना हे.क्वा. तथा नं २ बाहिनी अड्डाको संयोजनमा, धनकुटास्थित भीमदल गण र सुनसरीस्थित भगवतीदल गणको पहलमा कार्यक्रम आयोजना हुन लागेको सेनाले जनाएको छ । उक्त कार्यक्रम धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकाको विशेष सहयोगमा सञ्चालन गरिने आयेजकले जनाइएको छ।
पुस २७ गते ‘विजयपुरगढी–सांगुरिगढी दौड’ आयोजना गरिने छ भने ,पुस २७ गतेदेखि ३० गतेसम्म ‘विजयपुरगढी–सांगुरिगढी–पाख्रीबास निशान पदयात्रा’ आयोजना हुने कार्यक्रम तय गरिएको सेनानी पार्वती थापाले जानकारी दिनुभयो । ऐतिहासिक स्थल विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ। उक्त कार्यक्रममा सबैलाई सहभागी हुन सेनाले अनुरोध पनि गरेको छ ।






