२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

Radio Khabar Palika

महामन्त्री थापासहित धनकुटाबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस



धनकुटा, २३ मंसिर। नेपाली कांग्रेस धनकुटाको मंगलबार सम्पन्न बैठकले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि जिल्लाबाट विभिन्न नेताहरूको नाम सिफारिस गरेको छ। बैठक जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले प्रतिनिधि सभा (प्रत्यक्ष) तर्फ धनकुटाबाट उम्मेदवारका रूपमा पार्टीका महामन्त्री तथा लोकप्रिय युवा नेता गगनकुमार थापा, जिल्ला सभापति दिनेश राई, पूर्व सभापति हरीकुमार राई र मनोहर नारायण श्रेष्ठको नाम सिफारिस गरेको छ। यस्तै राष्ट्रिय सभा तर्फ खुला श्रेणीमा सुनिलबहादुर थापा, आनन्द सन्तोषी राई, अजित नारायणसिंह थापा, लोकेन्द्र श्रेष्ठ, शिवकुमार राईका नाम सिफारिस गरिएको सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो । त्यस्तै महिला तर्फ लिला सुब्बा, अञ्जना ताम्ली,दलित तर्फ रविन्द्र नेपाली, अम्बिका परियार, इन्दु दर्नाल लगायतका नेताहरूको नाम बैठकले सिफारिस गरेको सचिव राईले जानकारी दिनुभयो ।यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फ कमोट कुमार फागो, टिका भण्डारी, सिता प्रधान, अम्बिका धमला, करुणा कटुवाल, उदयबहादुर लिम्बु, मिना राई, रामजी कोङ्ग्रेन, चन्द्र याखा, मिनबहादुर कार्की लगायतका नेताहरू सिफारिस सूचीमा रहेका छन्।

धनकुटा जिल्लाबाट प्रत्यक्ष तर्फ उम्मेदवारको रूपमा महामन्त्री गगनकुमार थापालाई अनुरोधपूर्वक सिफारिस गरिएको र उहालाई जिल्ला कार्यकर्ताहरूले भविष्यका प्रधानमन्त्रीका रूपमा समेत अगाडि बढाउन चाहेको जिल्ला सचिव राईले जानकारी दिनुभयो। बैठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी स्वरूप ६० वटै वडामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकमा जिल्लाबाट हालसम्म सञ्चालन भएका गतिविधिहरु तथा एजेण्डाबारे जिल्ला सचिव विजय सन्तोषी राई र जयन्द्र घिसिङले प्रस्तुति दिनुभएको थियो ।बैठकमा उपसभापति निर्मल ओझा, संविधानसभा सदस्य लिला सुब्बा, सह–सचिव गिरिजाप्रसाद दाहाल, जिल्ला सदस्य कमोट कुमार फागो पाख्रिवास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङ, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, क्षेत्रीय सभापति जितेन्द्र राई, महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज राय, नेता टिकादेवी भण्डारी, नगर कार्यसमिति सभापति अभिषेक कर्माचार्य, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, सहिदभूमि गाउँपालिका सभापति नेपालधन राई, टंक राई लगायतका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।