
मंसिर २३,धनकुटा । दुबै मृगौला फेल भएर नियमित उपचार गराइरहनुभएका धनकुटा नगरपालिका–८ सान्ताङका वडा सदस्य चौतिसलाल राईले आर्थिक अभावका कारण उपचार निरन्तरतामा समस्या परेको भन्दै सहयोगको अपील गर्नुभएको छ। ४९ वर्षीय राईको दुबै मृगौला फेल भएसँगै महिनामा ८ पटक धनकुटा अस्पतालमा डायलाइसिस गर्नुपर्छ। दस महिनाको अवधिमा उपचारमा १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको र पछिल्लो समय उपचार खर्च जुटाउन कठिनाइ भएपछि सबैसँग सहयोगको अपेक्षा राख्नुपर्ने अवस्था आएको उहाँले पत्रकारहरूसँगको भेटमा बताउनुभयो।
राईका तीन सन्तानमध्ये दुई छोरीको विवाह भइसकेको छ भने १० कक्षामा अध्ययनरत एक मात्र छोरा परिवारसँग छन्। नियमित आम्दानी गर्ने सदस्य कोही नहुँदा औषधि र डायलाइसिस खर्चसमेत व्यवस्थापन गर्न कठिनाइ भएको उहाँको भनाइ छ। २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित राईले जनप्रतिनिधि हुँदाहुँदै पनि नगरपालिकाबाट उपचारका लागि कुनै सहयोग नपाएको गुनासो गर्नुभयो। धेरैपटक अनुरोध गर्दा पनि नगरपालिकाबाट सहयोग प्राप्त नभएको उहाको गुनासो छ ।





