१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

Radio Khabar Palika

सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण



९ असार, सङ्खुवासभा । सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई सोमबार हस्तान्तरण गरेको हो ।

अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आशीर्वाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज हुने अपेक्षा स्थानीयको छ । अस्पताल भवन भ्याटसहित करिब रु २७ करोड २७ लाख ८० हजार सात सय २३ मा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले बताए। भवन हस्तान्तरण भएपछि सङ्खुवासभा अस्पतालका तीन वटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आउने आयोजना प्रमुख मिश्रले बताए ।भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिए। पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने प्रमुख शाक्यको भनाइ छ । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायतका सेवा सञ्चालनमा छन् । जिल्ला अस्पतालमा सङ्खुवासभाका १० वटा स्थानीय तहका मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् । जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी लगायतका सेवा सञ्चालनमा छन् । यसअघि समयमा जिल्ला अस्पताल भवन सम्पन्न नहुँदा २०३३ सालमा निर्माण भएको पुरानो भवनको प्यासेज र भुइँमा बिरामीको उपचार भइरहेको थियो । अस्पतालमा दैनिक चार सय बढी सेवाग्राही उपचारका लागि आउँछन् ।