
२२ जेठ धनकुटा । विश्व वातावरण दिवसको अवसरमा ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ। यसैक्रममा धनकुटासहित नेपालका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । विश्व वातावरण दिवसको अवसरमा धनकुटाको पाख्रिबास नगरपालिकामा रहेको संसारी सिमसारमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय धनकुटा र पाख्रिबास नगरपालिकाको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । बृक्षारोपणमा गुराँस, दाँतेओख्खर, विरेन्द्रफुल, चाँप र गोलमोहरका विरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख संञ्जीब राज ढकालले जानकारी दिए ।

वातावरण दिवससँगै पर्यटन प्रवद्र्धनका लागि पनि पाख्रिबासको संसारी सिमसारमा वृक्षारोपण गरिएको हो । यसपटक संयुक्त राष्ट्रसंघले तय गरेको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ रहेको छ। नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेको छ। यसै क्रममा आयोजित कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले पाख्रिबास नगरपालिकामा प्लाष्टिकजन्य उद्योग बन्द गर्ने बताए । धनकुटा जिल्लामा केही वर्षअघि प्लाष्टिक मुक्त जिल्ला घोषणा गरिएपनि हाल आएर प्लाष्टिकका झोला प्रयोग हुन थालेको छ। यसलाई सबै मिलेर नियन्त्रण गर्नुपर्ने धनकुटाका जिल्ला समन्वय प्रमुख निरेन तामाङले बताए । वृक्षारोपण कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज प्रोख्रेल लगायत सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिती रहको थियो। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।