
बैशाख,५ धनकुटा । घरेलु उत्पादन र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित धनकुटामा आयोजित चौँथो औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव २०८२ सोमबार समापन भएको छ । वैशाख २३ गतेदेखि सुरु भएको महोत्सव कोशी प्रदेश सरकारले घोषणा गरेको “पर्यटन वर्ष २०८२” लाई लक्षित गर्दै आयोजना गरिएको थियो । घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाको आयोजनामा सम्पन्न महोत्सवमा धनकुटामा उत्पादित वस्तुहरू, स्थानीय परिकारहरू, कृषि उत्पादन, र पर्यटनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनीमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा पनि स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, तथा विभिन्न प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण गरिएको थियो । धनकुटाका प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्रकुमार राईले आर्थिक चलयमान हुन यो महोत्सवले केहि सहयोग गरेको बताउनु भयो । महासङ्घका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा धनकुटावासी, सहभागी व्यवसायी, पर्यटक र सबै सहयोगी निकायप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो ।
