१९ चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

Radio Khabar Palika

धनकुटामा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



८चैत्र ,धनकुटा । वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय धनकुटाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाको संयोजनमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको हो ।
लामो समयदेखी वर्षा नभएका कारण सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्दै गएको हुदा यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रमको आयोजना गर्नुपरेको सामुदयीक वन उपभोक्ता महासंघ समितिका अध्यक्ष निल बहादुर थापाले जानकारी दिए । वन डढेलो रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको अध्यक्ष थापाले जानकारी दिए । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनिकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिदैँ आएको उनको भनाई छ ।

जिल्लाका सातवटै पालिकामा वजेटले भ्याएसम्म र सबैको सहकार्यमा सचेतना सप्ताह सम्पन्न गरिएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीबराज ढकालले बताए । जसअन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमुना अभ्यस गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका कार्य गरिएको उनले जानकारी दिए । सुख्खा क्षेत्रमा वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह समेत गरेको छ । धनकुटामा ३ सय ८७ सामुदायिक वन, ३ धार्मिक वन रहेको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाले जनाएको छ । वन डढेलो लागेको थाहा पाए जतिसक्दो चाडो सम्बन्धित निकायमा खवर गर्न तथा डढेलो नियन्त्रणमा लाग्न आग्रह गरीएको थियो ।