=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

Radio Khabar Palika

धनकुटाको तमोर र अरुण नदी किनारका माझी समुदायले धुमधामरुपमा मनाए लदि पुजा(फोटो फिचर)



२० फागुन, धनकुटा । धनकुटाका माझि समुदायले हरेक वर्ष मनाउँदै आएको लदि पुजा (कोशी पुजा) यो वर्ष पनि धुमधामका साथ मनाएका छन् । धनकुटाको तमोर नदी किनारका भैँसेटार, कुशेटार, सदामटार, लेगुवा र आँपखोलाका माझी समुदायले चौबिसे गाउँपालिका वडा नं. ४ भैँसेटारमा भेला भएर लदी पुजा मनाएका छन्। हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार अर्थात साँहीली मंगलबार माझी समुदायले नदिमा कुनै दुर्घटना नहोस भनेर पुजा गर्ने गरेका छन् ।

सिमान्तकृत माझी समुदायले परापूर्वक कालदेखि नै नदी तथा खोलाको किनार आसपासमा बसि माछा मार्ने, डुंगा चलाएर जिविकापार्जन गर्दै आएका छन्। उनिहरु सँधै खोला तथा नदीको नजिक हुने र त्यसैमा आश्रीत हुने भएकाले लदि पूजा गर्ने परम्परा रहिआएको माझि समुदायका अगुवाहरुले बताएका छन ।

लदी भनेको माझी भाषामा नदि अर्थात कोशी हो। लदि पूजा गर्नाले माझी समुदायको मुख्य पेशा नदीमा डुंगा चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास उनीहरुमा छ । नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको स्थानीय लालमान माझीले बताए ।


लदि पुजा माझी समुदायले हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार गर्दै आएका छन्। तर, पछिल्लो समय सडक निर्माणसँगै नदिमा पुल बन्न थालेपछि डुंगा चलाउने र माछा मार्ने पेशा संकटमा परेसँगै लदि पुजा लोप हुन थालेको छ । अझ देशमा भएको द्धन्द्धको कारण २०५७ सालदेखि यो पुजा बन्द भएको थियो। तर, पछिल्लो समय पुन संस्कृति संरक्षणका लागि भन्दै युवाहरुको अग्रसरतामा यो पुजा सुरु गरिएको स्थानीय राजन माझीले बताए ।

धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिकाले गत वर्षदेखि लदी पुजा संरक्षणको लागि भन्दै हरेक वर्ष बजेट विनियोजन गर्दै आएको चौबिसे गाउँपालिका वडा नं. ४ का वडा सदस्य समेत रहेका माझीले बताए । माझी समुदायले यो पर्वमा नदी तथा कोशीको पुजा गरेर गोलमाडी लगायतका परिकार खाएर मनाउने उनको भनाई छ ।


माझी समुदायको डुंगा चलाउने र माछा मार्ने पेशा लोप भएसँगै लदि पुजा पनि लोप भएकोले राष्ट्रिय पर्वका रुपमा मनाएर संरक्षणको पहल हुनुपर्ने आवाज पनि उठ्न थालेको छ। नेपाल एक बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबैको धर्म संस्कृति परम्परा संरक्षण गर्दै पर्यटकीय केन्द्र बनाउनु पर्ने स्थानीयले बताएका छन । उनीहरुले धेरैलाई माझी समुदाय र लदी पुजा थाहा नभएकोले स्थानीय, प्रदेश र संघीय सरकारले विशेष चासो दिएर प्रचारप्रसार र संरक्षणमा पहल गर्नुपर्ने बताएका छन । लदी पुजा धनकुटाको तमोर तथा अरुण नदी किनारका सहित देशभरका माझी समुदायले भव्यताका साथ मनाउने गरेका छन्।