
धनकुटा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ ।
धनकुटामा विगत एकबर्षको अवधिमा ९९ वटा मानव अधिकार उल्लघनका घटना भएको पाइएको छ । जसमा एक बर्षको अवधिमा ३ जनाको हत्या, हत्याको प्रयास २ जना, जातिय विभेद १ जना, आत्माहत्या दुरुत्सान २ जना, घरेलु हिंसा ७० जना, बलात्कार १४, बलात्कृतपछि हत्या १ जना, बालयौन दुव्र्यवहार ३ जना, बालविबाह १ जना, बहुबिवाह १ जना र साईबर क्राईम २ जना पिडित भएको घटना माथि समीक्षा गरिएको हो । जसमा पुरुष ५, महिला ८४ र बालिका ११ जना गरी जम्मा १ सय जना पिडित भएको पाएको छ । सने २०२३ मा धनकुटामा मावअधिकार उल्लघंनका घटनाबाट १ सय ३ जना पिडित भएको यस वर्ष पनि सोही हाराहारीमा रहेको पाइएको छ।

कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले घटना तथ्यांक मात्रै भन्दा पनि न्युनिकरणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले गरिबी घट्नु, सुशासन कायम हुनु पनि अधिकारकै पक्षमा रहेको बताउनु भयो । समीक्षामा सहभागी जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले हिंसाका विरुद्ध सबै लाग्नुपर्ने र जानी नजानी हुने मानवअधिकार उल्लंघनका घटना हुने गरेकोले सबै सचेत हुनुपर्ने बताउनु भयो ।
यस्तै धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनालले संविधान कार्यान्वयन, सुशासन र समृद्ध नेपाल र सुखी नेपाली बन्न हिंसा तथा उल्लंघनमा घटनामा कमी हुनुपर्ने बताउनु भयो । उहाँले भ्रुण हत्या अन्त्य गर्दै मानव अधिकार उल्लंघनका घटना न्युनिकरण होइन अन्त्य गर्नुपर्ने बताउनु भयो ।
यता प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले प्रतिवेदन राम्रो भएको र यस्ता घटना भइरहने बताउनु भयो । उहाँले मानवअधिकार उल्लंघन भन्दा पनि क्राइम भएको बताउँदै पुरानो तरिकाले घटना संकलन भएको बताउनु भयो । उहाँले संविधानको मौलिक हक हेरेर घटना संकलन गर्नुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा महिला हिंसा विरुद्धको १६ दिने अभियानमा भएका कार्यक्रमको बारेमा धनकुटा नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख फूलमाया तामाङले प्रस्तुती राख्नुभएको थियो । ७६ औ विश्व मानवअधिकार दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । ‘हाम्रो अधिकार, हाम्रो भविश्य र अहिले‘ भन्ने मुल नाराका साथ विश्वभरी मनाईएको मानवअघिकार दिवस धनकुटामा पनि मनाईएको हो । मानवअधिकारको क्षेत्रमा क्रियासिल इन्सेक सहित गरै सरकारी संस्था महासंघ, हुसाडेक नेपाल, मानवअधिकार एलाइन्स र पत्रकार महासंघ धनकुटाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरी, सशस्त्र प्रहरीका डिएसपी मदन नाथ लगायत अधिकारकर्मी पत्रकार तथा विभिन्न संघसंसथाका प्रतिनिधी गरि ५३ जनाको सहभागिता रहेको थियो ।