६ फाल्गुन २०८१, मंगलबार | Wed Feb 19 2025

Radio Khabar Palika

धनकुटामा धुमधामसँग मनाइयो साकेला



धनकुटा । धनकुटामा किराँत राईहरुको महान पर्व उधौली धुमधामसँग मनाइएको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन । बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ।


साकेला उधौलीको अवसरमा धनकुटाको तल्लो टुँडिखेलमा शनिबार झाँकी प्रदर्शन तथा शुभकामना आदानप्रदान गरिएको हो। किराँत राई यायोख्खाको आयोजना भएको झाँकी प्रदर्शनमा साकेला सिल्ली नृत्य, सहिदभूमिका राईहरुको पापानी नाच र आठपहरिया राईको वढाङ्मी नाच प्रस्तुत गरिएको थियो।

धनकुटामा किराँत समुदायको उल्लेख्य बसोबास रहेकोले उधौली पर्व धुमधामका साथ मनाइदै आएको छ। अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मनाउने गर्दछ। पछिल्लो पुस्तामा झाँकी भनेको थाहा हुन छाडेकाले नयाँ पुस्तालाई झक्झकाउन कार्यक्रमको आयोजना गरिएको किराँत राई यायोख्खा धनकुटाको अध्यक्ष उद्धवमणि राईले जानकारी दिए। कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नेपाल सबै जातजाति र धर्म संस्कृतिको साझा थलो भएकाले सबैको संस्कार संस्कृतिको रक्षा गर्नुपर्ने बताए । धनकुटा नगरपालिका भित्र बसोबास गर्ने प्रत्येक जात जातिको सस्कार सस्कृतको जर्गेना गर्न नगरपालिका लागि पर्ने बताए ।