३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

Radio Khabar Palika

कुकुर तिहार किन मनाइन्छ ?



कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार पर्दछ, कुकुर तिहारको दिन उसको निष्ठा र साहसको सम्मान गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र न्यायको प्रतीक मानिन्छ । पौराणिक कथाहरूमा कुकुरलाई विशेष स्थान दिइएको छ, यसका विभिन्न धार्मिक र पौराणिक कारणहरू रहेका छन् ।

कुकुरलाई विधिवत् पूजा गर्नु भनेर त शास्त्रमा लेखिएको छैन तर ‘स्वानबलि’ भनेर कुकुरलाई जे खान मन पर्छ त्यो दिनु भनिएको छ ।

पौराणिक कथा अनुसार श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् । यमलोकमा सबै जीवले जानुपर्छ भन्ने मान्यता छ । यमराजको सान्निध्यमा जाँदा यी कुकुरले दुःख नदिऊन् भनेर ‘स्वानबलि’ दिइएको हो । त्यसो त कुकुरलाई पनि यमदूत नै मानिएको छ ।
महाभारतको कथा अनुसार, जब धर्मराज युधिष्ठिर आफ्नो भाइहरू र एक कुकुरसँग स्वर्ग यात्रामा जान्छन्, सबै भाइहरू बीचमै पतन हुन्छन्, तर कुकुरले अन्त्यसम्म पनि युधिष्ठिरलाई साथ दिन्छ । पछि त्यो कुकुर धर्मराजको प्रतीक भएको कुरा थाहा हुन्छ । कुकुरलाई यमराजको दूतको रूपमा पनि मानिन्छ, जसले सत्य, निष्ठा, र धर्मको मार्गमा चल्नेहरूको सम्मान गर्छ । यो कथा कुकुरको निष्ठा, सद्गुण र सहनशीलताको प्रतीक भएकाले जसलाई कुकुर पूजा गरी सम्मान गरिन्छ। हिन्दुधर्ममा कुकुरलाई मृत्युदेवता यमराजका दूत मानिन्छ । कुकुरले मृत्यु पछिको जीवन र यमलोकमा प्रवेशको प्रतीकात्मकता बोकेको छ । त्यसैले कुकुरलाई सम्मान गर्दै पूजा गर्दा यमराज प्रसन्न हुने र मृत्युपछिको जीवनमा शान्ति मिल्ने जनविश्वास छ । भगवान शिवको एक उग्र रूप कालभैरवलाई कुकुरको साथसाथै चित्रण गरिन्छ । भैरव न्यायका रक्षक मानिन्छन् र उनीहरूलाई साथ दिने कुकुरलाई पनि धर्म र न्यायको प्रतीकका रूपमा मानिन्छ । कुकुरको सेवाले राहु र केतु ग्रहजन्य पीडा कम हुन्छ भन्ने ज्योतिषीय मान्यता समेत रहेको छ । साथै वर्तमान समयमा पनि कुकुरले मान्छेलाई सुरक्षा दिन्छ र उसको निष्ठा अतुलनीय रहेको कुरालाई नकार्न सकिँदैन । घरपालुवा कुकुरले मालिकको सुरक्षा गर्ने, चेतावनी दिने र सङ्कटमा सहयोग गर्ने अहम् भूमिका खेल्दछ ।यी धार्मिक, पौराणिक र सांस्कृतिक कारणहरूकै कारणले कुकुर तिहार मनाइन्छ, जसमा कुकुरको पूजा गरेर उसको योगदानको कदर गरिन्छ ।

स्रोत ः अनलाईखबर