१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

Radio Khabar Palika

नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने घोषणा गर्दै एकीकृत समाजवादी धनकुटा जिल्ला समिति विघटन



धनकुटा, कात्तिक २८ – नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला समिति शुक्रबार बसेको आकस्मिक बैठकले आफूहरू विघटन भई नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ। जिल्ला कमिटीको बैठकले हाल देशमा उत्पन्न राजनीतिक परिस्थिति र वामपन्थी पार्टीहरूबीच एकता प्रक्रियालाई दिइएको महत्वलाई मूल्यांकन गर्दै यस्तो निर्णय गरिएको जनाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, एकीकृत समाजवादीलगायत विभिन्न राजनीतिक दलहरू बीच एकता भएर नयाँ पार्टी गठनको संकेत देखिएको र त्यसका कारण उत्पन्न राष्ट्रिय राजनीतिक परिवेशले यस कदमलाई आवश्यक बनाएको बताइएको छ। विज्ञप्तिमा भनिएको छ, “वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, वाम एकताको पृष्ठभूमि र विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेकपा (एमाले) मा समाहित हुने निर्णय लिइएको छ।” यसका साथै, कमिटीले धनकुटावासी सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई पार्टी एकतालाई सफल बनाउन आग्रह गरेको छ। अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जे.बी. राईले संयुक्त रूपमा हस्ताक्षर गरेको उक्त प्रेस विज्ञप्तिमा सहकार्य, एकता र वाम आन्दोलनलाई सबल बनाउन सबैलाई साथ दिन अपिल गरिएको छ।