२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

Radio Khabar Palika

धनकुटाको बसपार्क बदलिँदै : चारतले आधुनिक संरचनादेखि रुफटप होटलसम्मको योजना



विदुर खवास

२२ भदौ,धनकुटा । धनकुटा प्रवेश गर्ने यात्रुले सबैभन्दा पहिले देख्ने सार्वजनिक संरचनामध्ये एक हो धनकुटा बसपार्क । वर्षौंदेखि सवारीसाधनको आवतजावत, यात्रुको चहलपहल र साना ठूला व्यवसायको केन्द्र बनेको यो बसपार्क अहिले भने नयाँ स्वरूपमा बदलिने तयारीमा छ ।
पुराना संरचना, साँघुरा ठाउँ, अव्यवस्थित सटर र यात्रुको आवश्यकताअनुसारका पर्याप्त सुविधा नहुँदा लामो समयदेखि बसपार्कको स्वरूपमा परिवर्तनको आवश्यकता महसुस हुँदै आएको थियो। यही आवश्यकतालाई सम्बोधन गर्दै धनकुटा नगरपालिकाले हाल सञ्चालनमा रहेको बसपार्कलाई आधुनिक, व्यवस्थित र बहुउद्देश्यीय संरचनाका रूपमा विकास गर्ने योजना अघि बढाएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।


धनकुटा नगरपालिका ७ मा रहेको करिब १५ रोपनी क्षेत्रफलको बसपार्कलाई सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्तरोन्नति गर्न लागिएको नगरपालिकाले जनाएको छ । यसका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ बजेट विनियोजन भएको नगरपालिका सूचना अधिकारी एवं आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।
तर बजेट विनियोजन भए पनि निर्माणको काम भने तत्काल सुरु हुने अवस्थामा छैन। परियोजना कार्यान्वयनका लागि आवश्यक कार्यविधि स्वीकृतिको पर्खाइमा नगरपालिका र आयोजना कार्यालय छन्। धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईका अनुसार कार्यविधि स्वीकृत भएर आएपछि परियोजनाको थप प्रक्रिया अघि बढाइनेछ । “नगरपालिकाले बसपार्क व्यवस्थित गर्न प्रस्ताव गरिसकेको छ । बजेट पनि विनियोजन भएको छ। कार्यविधि आएपछि बाँकी प्रक्रिया अघि बढ्छ,” राईले भने।

पार्किङ मात्रै होइन, व्यापारको केन्द्र पनि

नगरपालिकाको योजना बसपार्कलाई बस तथा सवारीसाधन पार्किङ गर्ने ठाउँका रूपमा सीमित राख्ने होइन ,आधुनिक संरचना निर्माण गरेर यातायात, व्यवसाय र यात्रु सेवाको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख तामाङको भनाई छ । प्रस्तावअनुसार बसपार्क क्षेत्रमा चारतले संरचना निर्माण गरिनेछ । संरचनाको अन्डरग्राउन्ड भागलाई बसपार्कका रूपमा प्रयोग गर्ने योजना छ । ग्राउन्ड लेभलमा भने साना व्यवसाय सञ्चालनका लागि सटर तथा पसल बनाइनेछ । त्यसैगरी माथिल्लो तलामा व्यावसायिक हल, सेमिनार हल, पार्टी प्यालेस वा अस्पताल जस्ता प्रयोजनमा प्रयोग गर्न सकिने संरचना निर्माण गर्ने योजना छ। सबैभन्दा माथिल्लो तलालाई रुफटप होटल लगायतका व्यावसायिक गतिविधिका लागि प्रयोग गर्न सकिने नगरपालिकाको योजना छ । यसले बसपार्कको उपयोगिता पार्किङमा मात्रै सीमित नराखी नगरको आर्थिक गतिविधिसँग जोड्ने अपेक्षा गरिएको छ । धनकुटा नगरपालिकाका सबइन्जिनियर कुशल मिश्रका अनुसार नगरपालिकाले यसअघि करिब २६ करोड रुपैयाँ लागतको विस्तृत प्रस्ताव सहरी विकास मन्त्रालयमा पठाएको थियो। निर्माण सामग्रीको मूल्यवृद्धि लगायतका कारण परियोजनाको लागत बढेर करिब ३५ करोड रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ । परियोजना करिब चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मिश्रले बताए ।


पुराना संरचनाको ठाउँमा नयाँ स्वरूप


धनकुटा बसपार्कमा अहिले वर्षौंअघि निर्माण गरिएका साना घर तथा सटरहरू छन्। तीमध्ये कतिपय संरचना पुराना र अव्यवस्थित अवस्थामा छन्। बसपार्कभित्र रहेका होटल, पसल तथा कोसेली घरलगायतका व्यवसायले यात्रु र स्थानीयलाई सेवा दिइरहे पनि समग्र बसपार्कको स्वरूप भने आकर्षक बन्न सकेको छैन।
नगरपालिकाको दृष्टिमा नयाँ परियोजना बसपार्कको भौतिक संरचना परिवर्तन गर्ने मात्र योजना होइन, यसले पुरानो संरचनालाई व्यवस्थित गर्दै यात्रु, व्यवसायी र नगरपालिकाबीचको आर्थिक सम्बन्धलाई समेत नयाँ ढंगले अघि बढाउनेछ । प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार बसपार्कमा यात्रु प्रतीक्षालय, पार्किङ, व्यवसायिक सेवा तथा अन्य आवश्यक सुविधा एउटै संरचनाभित्र उपलब्ध गराउने लक्ष्य छ । “बसपार्कमा सुविधा थपेर व्यवस्थित संरचना निर्माण गर्ने हाम्रो उद्देश्य हो,” राईले भने, “यसबाट नागरिकले सहज र सुविधायुक्त बसपार्क पाउनेछन् भने नगरपालिकाले पनि व्यावसायिक संरचनाबाट आम्दानी गर्न सक्नेछ।”

‘बसपार्क धनकुटाकै मुहार हो’

धनकुटा नगरपालिका ७ का वडाध्यक्ष रोषेश श्रेष्ठले बसपार्क सवारीसाधन रोक्ने स्थान मात्र होइन, धनकुटाको परिचय झल्काउने प्रवेशद्वार पनि रहेको बताए । पुराना र अव्यवस्थित संरचनाका कारण बसपार्कको आकर्षण तथा उपयोगितामा असर परेको बताउँदै श्रेष्ठले नयाँ संरचना निर्माण भएपछि व्यापारिक गतिविधि, नगरपालिकाको आन्तरिक आम्दानी र क्षेत्रको सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पर्ने जानकारी दिए । “बसपार्क भनेको धनकुटाकै मुहार हो। झट्ट कोही यहाँ आइपुग्दा बसपार्क हेरेरै यहाँका बारेमा धारणा बनाउँछ,” श्रेष्ठले भने, “त्यसैले यसलाई थप व्यवस्थित र आकर्षक बनाउन आवश्यक छ।” उनका अनुसार आधुनिक बसपार्क निर्माण भएपछि यात्रु र यातायात व्यवसायीलाई सुविधा पुग्नुका साथै बसपार्क क्षेत्रको व्यापारिक सम्भावनासमेत बढ्नेछ। नयाँ संरचना निर्माणका लागि वडा कार्यालयले आवश्यक समन्वय गर्ने उनले बताए ।

पूर्वी पहाडको यातायातसँग जोडिएको केन्द्र

धनकुटा बसपार्क धनकुटा जिल्लाको मात्र यातायात केन्द्र होइन। लामो समयदेखि धनकुटासहित तेह्रथुम, भोजपुर, संखुवासभा लगायत पूर्वी पहाडी जिल्लाका यात्रु तथा यातायात र ढुवानीका साधनले यसको प्रयोग गर्दै आएका छन्। यस कारण पनि बसपार्कको स्तरोन्नति धनकुटा नगरपालिकाको सीमाभित्रको एउटा पूर्वाधार विकास परियोजनाभन्दा फराकिलो अर्थ राख्छ । पूर्वी पहाडी जिल्लाबाट धनकुटा आउने यात्रुका लागि बसपार्क पहिलो गन्तव्य हो। त्यही ठाउँ व्यवस्थित र आधुनिक बन्न सके धनकुटाको सार्वजनिक यातायात सेवा मात्र नभई समग्र सहरी छविमा समेत सुधार आउने नगरपालिकाको अपेक्षा छ ।


बजेट छ, योजना छ; अब कार्यविधिको प्रतीक्षा

बसपार्क स्तरोन्नतिको योजना अघि बढिसकेको भए पनि यसको कार्यान्वयनको मुख्य चरण भने कार्यविधि स्वीकृतिसँग जोडिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख घनश्याम श्रेष्ठका अनुसार कार्यविधि स्वीकृतिको पर्खाइमा परियोजना रहेको छ ।

भदौको पहिलो साताभित्र कार्यविधि स्वीकृत भएर आउने जानकारी भए पनि भोटेकोशीमा आएको बाढीपछि उत्पन्न विपद्को व्यवस्थापनमा सहरी विकास मन्त्रालयको जनशक्ति केन्द्रित हुँदा प्रक्रिया केही ढिलो भएको उनले बताए । “धनकुटा नगरपालिकाले बसपार्क व्यवस्थित गर्न पहिले नै प्रस्ताव गरेको हो। बजेट पनि विनियोजन भएको छ,” श्रेष्ठले भने, “तर कार्यविधि स्वीकृत भएर नआइसकेकाले थप अगाडि बढ्न सकिएको छैन।” उनका अनुसार कार्यविधि स्वीकृत भएर आएपछि परियोजनाको अन्तिम टुंगो लगाई ठेक्का प्रक्रियामा जाने तयारी छ ।

एउटा बसपार्क, बदलिँदो धनकुटाको सपना

धनकुटाको बसपार्क अहिले पुरानो संरचना र नयाँ योजनाबीच उभिएको छ । एकातिर वर्षौं पुराना सटर, साना होटल र अव्यवस्थित संरचना छन् भने अर्कोतिर चारतले आधुनिक भवन, भूमिगत पार्किङ, व्यवसायिक सटर, सेमिनार तथा कार्यक्रम हल र रुफटप होटलसम्मको परिकल्पना गरिएको छ । योजना कार्यान्वयनमा आएमा बसपार्कले यात्रुलाई यातायात सुविधा मात्रै दिने छैन, नगरपालिकालाई नियमित आन्तरिक आम्दानीको स्रोतसमेत बन्न सक्नेछ। स्थानीय व्यवसायीका लागि नयाँ अवसर सिर्जना हुने र बसपार्क क्षेत्रको व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । तर यो परिकल्पना व्यवहारमा कति छिटो र कति प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ भन्ने कुरा अब कार्यविधि स्वीकृति, विस्तृत परियोजना टुंगो, ठेक्का प्रक्रिया र निर्माणको गतिमा निर्भर हुनेछ । धनकुटाको पुरानो बसपार्क अब पार्किङ गर्ने ठाउँबाट आधुनिक सहरी पूर्वाधार र आर्थिक गतिविधिको केन्द्र बन्ने यात्रामा अघि बढेको छ । यसको सुरुवात भने कार्यविधि स्वीकृतिसँगै हुनेछ ।