
विदुर खवास
२० भदौ,धनकुटा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले निर्माण व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनको शनिबार धनकुटामा उद्घाटन गर्दै मन्त्री पराजुलीले निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकारमा छलफल अघि बढाउने र आवश्यक विषयमा संघीय सरकारको समेत ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।
मन्त्री पराजुलीका अनुसार कोशी प्रदेशमा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका विभिन्न आयोजनाको करिब ५३ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जानकारी प्राप्त भएको छ। उक्त रकम भुक्तानीका लागि आफूले पहल गर्ने बताउँदै उनले यस विषयमा चाँडै प्रदेश मन्त्रिपरिषद्को बैठकमा समेत छलफल गर्ने जानकारी दिए।
निर्माण व्यवसायीहरूले भने बढ्दो मूल्यवृद्धिका कारण आयोजना निर्माणमा समस्या भएको भन्दै मूल्य समायोजनको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। ठेक्का सम्झौता हुँदाको लागत अनुमानभन्दा निर्माण सामग्री तथा अन्य खर्च अत्यधिक बढ्दा आयोजनाको लागत दोब्बरसम्म पुग्ने अवस्था आएको उनीहरूको भनाइ छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय नीतिगत उपमहासचिव मंगलबहादुर शाहीले पछिल्लो समय संघीय सरकारले बनाएको नीतिका कारण संघीय सरकारबाट सञ्चालित आयोजनाको भुक्तानीमा तुलनात्मक रूपमा समस्या नरहेको बताए। तर प्रदेश तथा स्थानीय तहले आवश्यक नीति नबनाउँदा ती तहबाट सञ्चालित आयोजनाको भुक्तानीमा अझै समस्या रहेको उनको भनाइ छ। शाहीले निर्माण सामग्रीलगायतका वस्तुको मूल्य निरन्तर बढिरहेकाले ठेक्का सम्झौताको समयमा तयार गरिएको लागत अनुमानअनुसार काम गर्न कठिन भएको बताउँदै मूल्य समायोजनको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ। अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने संघले जनाएको छ। कार्यक्रममा संघका पुर्व अध्यक्षहरु तथा कर्मचारीलाई सम्मान समेत गरिएको छ ।
