
- हाटबजार महिलाको आत्मनिर्भरताको आधार: धनकुटाका ग्रामीण महिलाले तरकारी, फलफूल, दाल, अन्न, मह, बाँसका सामग्री र घरेलु कपडा बिक्री गरेर घरखर्च, शिक्षा, औषधोपचार र अन्य आवश्यक खर्च जुटाउँदै आएका छन्।
- लामो समयदेखि निरन्तर सहभागिता: थाममती राईजस्ता ८२ वर्षीया महिलादेखि चार दशकभन्दा बढी समयदेखि हाट धाउँदै आएका महिलासम्म पुस्तौँदेखि हाटबजार ग्रामीण महिलाको जीविकोपार्जनको माध्यम बनेको छ।
- उत्पादनदेखि बजारसम्म महिलाकै भूमिका: महिलाहरू आफैं उत्पादक, संकलक र उद्यमीका रूपमा हाटमा सहभागी छन्। सडक विस्तारपछि गाउँबाट बजारसम्म उत्पादन पुर्याउन सहज भएको छ भने हाटले ग्रामीण उत्पादन र सहरी उपभोक्ताबीच पुलको काम गरेको छ।
- आर्थिकसँगै सामाजिक चौतारी: हाटबजारले महिलालाई आर्थिक रूपमा सबल बनाउनुका साथै बचत, सरसापट, भेटघाट र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर दिएको छ। यसरी धनकुटाका हाटबजार ग्रामीण अर्थतन्त्रमा महिलाको महत्वपूर्ण र प्रायः अदृश्य योगदानको जीवन्त उदाहरण बनेका छन्।
विदुर खवास
२९ साउन, धनकुटा । बिहीबार बिहान धनकुटा सदरमुकामको हाटबजारमा मानिसहरूको चहलपहल बाक्लिँदै थियो। कोही तरकारीको भारी बोकेर आइरहेका थिए, कोही डोको–डालो बोकेर। कसैले गाउँको मह ल्याएका थिए, कसैले अदुवा, खुर्सानी र फलफूल। बजारको भीडमा पुरुषभन्दा महिलाको उपस्थिति बाक्लो थियो।

त्यही भीडमा थिइन् धनकुटा नगरपालिका–५ खनियाँबासकी थाममती राई। ८२ वर्ष पार गरिसकेकी थाममतीको शरीर अहिले पहिलेजस्तो बलियो छैन। अनुहारका चाउरीले उमेरको लामो यात्रा देखाउँछन्। तर हाटबजारसँगको उनको सम्बन्ध भने अझै टुटेको छैन। ११ वर्षको उमेरदेखि सुरु भएको उनको हाटबजार यात्रा आठ दशक पुग्न लाग्दा पनि रोकिएको छैन। घर–करेसामा सिजनअनुसार उत्पादन भएका दाल, साग, अम्बा, बोडी, सजिवन, फलफूल, अन्नपातदेखि सालका पात र दाउरासम्म बोकेर उनी वर्षौँदेखि सदरमुकामको बिहीबारे हाट पुग्दै आएकी छन्। हाटमा सामान बेचेर आएको पैसाले उनको घरको सानोतिनो गर्जो टर्छ। “घरको सानोतिनो गर्जो यसैले टार्छु, लाउँछु, खान्छु, ओखतमुलो गर्छु,” थामती भन्छिन्। पहिले उनी हरेक हप्ता हाट आउँथिन्। अहिले बुढ्यौली र शारीरिक समस्याले गर्दा बाध्यता पर्दा मात्रै आउँछिन्। छिमेकीको सहारा लिएर हाट पुग्छिन् र फर्किन्छिन्। “आजभोलि धेरै आइराख्न सक्दिनँ। तैपनि नआई हुँदैन,” उनी भन्छिन्। एक्लो छोरा बितेपछि जीविकोपार्जनका लागि पनि उमेरको प्रवाह नगरी हाटबजार धाउनुपर्ने अवस्था आएको धनकुटा नगरपालिका–५ का वडाध्यक्ष धनकुमार आठपहरिया बताउँछन्। धनकुमार थाममतीका नाताले भदाहा भाइ हुन्।

चार दशकदेखि हाटमै जीवनको हिसाब
शहीदभूमि गाउँपालिका–छिन्ताङकी रामकुमारी राई पनि हाटबजारलाई आफ्नो जीवनको अभिन्न हिस्सा मान्छिन्। हाटबजार धाउन थालेको उनलाई चार दशकभन्दा बढी भइसक्यो। गाउँबाट संकलन गरेर ल्याएका केरा, अदुवा, खुर्सानी, मह, भुइँकटहर, एभोकाडो, सुन्तला तथा सिजनअनुसारका फलफूल र तरकारी बिक्री गर्नु उनको नियमित काम हो। बिहीबारे हाट मात्रै होइन, छिन्ताङको पञ्चकन्यामा बुधबार लाग्ने हाटमा पनि उनी पुग्छिन्। “मेरो त ४० वर्षदेखि हाटबजार धाउने, बेचबिखन गर्ने र घर चलाउने यही काम हो,” उनी भन्छिन्। आफ्नै खेतबारीमा उत्पादन भएका वस्तु बिक्री गर्ने र गाउँका अन्य किसानबाट उत्पादन संकलन गरेर बजारसम्म पुर्याउने काम पनि रामकुमारीले गर्दै आएकी छन्। महिनामा चारवटा बिहीबारे हाट र छिन्ताङको पञ्चकन्या हाटमा उनको उपस्थिति नियमितजस्तै हुन्छ।

डोकोदेखि खाँडीसम्म
आँखिसल्लाकी धनकुमारी राईको हाटबजारसँगको सम्बन्ध पनि १७ वर्ष पुरानो भइसकेको छ। उनको पसलमा डोको, डालो, मुडा, खुँगी, कुचोजस्ता बाँसबाट बनेका घरेलु सामग्री सजिएका हुन्छन्। हरेक बिहीबार उनी आफ्नो उत्पादन बोकेर हाट आइपुग्छिन्। धनकुटा बसपार्कमा उनले ‘धुन बाँस हस्तकला उद्योग’ पनि सञ्चालन गरिरहेकी छन्। धनकुटा–८ की जुकमाया आठपहरिया भने हाटलाई कृषि उत्पादनसँगै घरेलु उद्यमको बजारका रूपमा प्रयोग गर्छिन्। उनले उत्पादन गरेको दाल, सिमी, गेडागुडी र फलफूलसँगै घरमै सञ्चालन गरेको आठपहरिया पोसाक उत्पादन गर्ने खाँडी उद्योगका कपडा पनि हाटमा बिक्री हुन्छन्। ग्राहकले अर्डर गरेका सामग्रीसमेत हाटमै ल्याएर दिने गरेको उनी बताउँछिन्। असार र साउनमा भने परम्परागत मान्यताअनुसार कपडा नबुन्ने चलन रहेको उनको भनाइ छ।

उनका लागि हाट केवल सामान बेच्ने ठाउँ होइन, घरको आर्थिक चक्र चलाउने आधार हो। “यो हाटमा एकथोक ल्यायो बेच्यो, घरमा चाहिएको लग्यो। अर्को पटक अर्कोथोक ल्यायो बेच्यो। घरखर्च, केटाकेटीको पढाइलेखाइ र बिहेबारी सबैमा यही हाटले सघाएको छ,” जुकमाया भन्छिन्।हाटबाट बचाएको पैसा उनी महिला समूह र छरछिमेकमा आवश्यक पर्दा सापटीका रूपमा समेत लगानी गर्छिन्। ग्राहकको रोजाइ पनि बदलिँदै गएको उनले अनुभव गरेकी छन्। “हाटमा धेरै ग्राहकले गाउँमा फलेको, विषादी नहालेको चाहियो भन्छन्,” उनी भन्छिन्।

एक सय चार वर्ष पुरानो परम्परा धनकुटा सदरमुकामको बिहीबारे हाटको इतिहास पनि निकै पुरानो छ। स्थानीय इतिहासअनुसार १९७९ सालमा खलङ्गाका रूपमा रहेको धनकुटामा रहेका सिपाहीका लागि रसदपानी जुटाउने उद्देश्यले सुरु भएको हाटबजारको परम्परा अहिले गाउँगाउँसम्म फैलिएको छ। एक सय चार वर्ष पुरानो यो हाट आज ग्रामीण उत्पादन र सहरी उपभोक्ताबीचको महत्वपूर्ण पुल बनेको छ। हरेक बिहीबार लाग्ने हाटमा करिब १५० भन्दा बढी साना–ठूला स्टल रहने गरेका छन्। तीमध्ये अधिकांश ग्रामीण प्रौढ महिलाले सञ्चालन गर्छन्। तरकारी, दाल, फलफूल, स्थानीय धानको चामल, चुरा–पोते, टोपी, बाँसको तामा, चोयाका डोका लगायतका स्थानीय उत्पादन बिक्री गर्नेमा महिलाको संख्या उल्लेख्य छ। हाटमा सामान बेच्ने र घरका लागि आवश्यक वस्तु किन्न आउनेमध्ये ८० प्रतिशतभन्दा बढी महिला रहेको स्थानीयको अनुभव छ।

हाटबजार ः महिलाको मौन अर्थतन्त्र
हाटबजारको भीडमा देखिने महिलाहरू केवल बिक्रेता होइनन्। उनीहरू उत्पादक पनि हुन्, उद्यमी पनि र परिवारको अर्थतन्त्र धान्ने महत्वपूर्ण आधार पनि।

धनकुटा–५ तल्लोकोप्चेका ग्रामीण उद्यम अभियानमा लामो समयदेखि सक्रिय राजेन्द्रबहादुर प्रधानका अनुसार हाटबजारले ग्रामीण महिलालाई घरको चार पर्खालबाट बजारसँग जोडेको छ। “घरको काम जतिसुकै भए पनि उत्पादन बोकेर ल्याउने, बिक्री गर्ने र घर चलाउने काम महिलाले नै गरेका छन्। सानोतिना खर्चका लागि श्रीमान्, छोरा–छोरीको मुख ताक्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ। यस्ता हाटबजार वास्तवमै महिलाले नै धानेका छन्,” उनी भन्छन्। हाटमा आउने अधिकांश महिला बिचौलिया होइनन्। उनीहरू आफैं उत्पादक हुन्। आफ्नो खेतबारीमा उत्पादन गरेको वस्तु बेच्ने, गाउँबाट उत्पादन संकलन गर्ने, बाँसका सामग्री बनाउने, कपडा बुन्ने र त्यसलाई बजारसम्म पुर्याउने काम महिलाले नै गरिरहेका छन्। यस अर्थमा हाटबजार उनीहरूको सानो तर महत्वपूर्ण आर्थिक संसार बनेको छ।

ढाक्रेबाट गाडीको यात्रासम्म
समयसँगै हाटबजारको यात्रा गर्ने शैली पनि फेरिएको छ। केही दशकअघि छिन्ताङबाट धनकुटाको बिहीबारे हाट भर्न रामकुमारीजस्ता महिलाले बुधबार नै भारी बोकेर हिँड्नुपर्थ्यो। अहिले गाउँगाउँ र टोलटोलसम्म सडक पुगेका छन्। बिहानै सवारी चढेर ग्राहक आउनुअघि नै हाटमा पुग्न सकिन्छ। “अहिले पहिलेजस्तो भात न पानी भएर भारी बोकेर हतारिँदै हिँड्नुपर्दैन। सामान र भाडा मिलाए गाडीले नै बोकेर पुर्याइदिन्छ,” रामकुमारी भन्छिन्। सडकले ग्रामीण महिलाको बजार पहुँचलाई सहज बनाएको छ। उत्पादन खेर जाने सम्भावना घटेको छ। बजारमा पुग्ने समय र श्रम पनि कम भएको छ।

हाटबजारमा सामान मात्रै होइन, सम्बन्ध पनि साटिन्छ। हाटबजारको महत्व आर्थिक कारोबारमा मात्रै सीमित छैन। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका ग्रामीण विकासका उपप्राध्यापक किरण घिमिरेका अनुसार हाटबजार नेपाली ग्रामीण समाजको सामाजिक अन्तरघुलनको पुरानो माध्यम हो। “जोरपाटीको चिसोमा फल्ने तरकारी बन्चरेमा फल्दैन। मुलघाट र हिलेमा फल्ने फलफूल तथा तरकारी पनि फरक–फरक हुन्छन्। सबै ठाउँलाई पायक पर्ने गरी फरक दिनमा हाटबजार लाग्दा सामाजिक सम्बन्ध पनि बलियो रह्यो र एक ठाउँको उत्पादन अर्को ठाउँका मानिसले उपभोग गर्ने अवसर पनि पाए,” घिमिरे भन्छन्। धनकुटाको जोरपाटीमा आइतबारे, सिधुवामा बुधबारे, जितपुरमा शुक्रबारे र पाख्रिबासमा शनिबारे हाट लाग्छन्। यी हाटहरूमा पनि थाममती, रामकुमारी र जुकमायाजस्ता ग्रामीण महिलाको उपस्थिति बाक्लो हुन्छ। हाटमा सामान किनबेच हुन्छ। तर त्यहीसँगै भेटघाट हुन्छ, साइनो–सम्बन्ध नवीकरण हुन्छ, सरसापट हुन्छ र गाउँ–गाउँबीचको सम्बन्ध पनि जोडिन्छ। त्यसैले हाटबजार एउटा खुला बजार मात्रै होइन, ग्रामीण समाजको सामाजिक चौतारी पनि हो।

वैदेशिक रोजगारीले थपेको जिम्मेवारी
पछिल्ला वर्षमा वैदेशिक रोजगारीका कारण गाउँका पुरुषहरू बाहिरिने क्रम बढेको छ। श्रीमान्, दाजुभाइ, छोरा र भतिजाहरू रोजगारीका लागि विदेश वा सहरतिर जाने क्रम बढेसँगै गाउँमा बाँकी रहेका महिलामाथि घरधन्दा र उत्पादनको जिम्मेवारी थपिएको घिमिरे बताउँछन्। त्यसको एउटा दृश्य हाटबजारमा देखिन्छ। डोकोमा तरकारी बोकेर आउने महिला, काँधमा बाँसका सामग्री झुन्ड्याएर आउने महिला, घरमै बुनेको कपडा लिएर आउने महिला र गाउँबाट संकलन गरेको फलफूल बोकेर आउने महिलाहरूले हाटलाई चलायमान बनाइरहेका छन्। उनीहरूको श्रमको मूल्य केवल हाटमा बिक्री भएको रकमले मात्र मापन हुँदैन। त्यही रकमबाट घरमा चुलो बल्छ, छोराछोरीको पढाइ अघि बढ्छ, औषधि किनिन्छ, चाडपर्व मनाइन्छ र कहिलेकाहीँ बचत पनि हुन्छ।

हाटमा आउने महिलाहरू ः बजारका अदृश्य नायक
थाममतीको उमेर ८२ वर्ष पुगिसकेको छ। रामकुमारीले चार दशक हाटमा बिताइसकेकी छन्। धनकुमारी १७ वर्षदेखि बाँसका सामग्री बोकेर आइरहेकी छन्। जुकमायाका लागि हाट कृषि उत्पादन, घरेलु उद्यम र पारिवारिक अर्थतन्त्र जोड्ने ठाउँ बनेको छ। उनीहरू फरक गाउँका हुन्। उनीहरूको उत्पादन फरक छ। उमेर र जीवनका अनुभव पनि फरक छन्। तर उनीहरूको कथा एउटै ठाउँमा आएर जोडिन्छ हाटबजार।

जहाँ गाउँको उत्पादन सहर पुग्छ। जहाँ महिलाको श्रम नगदमा रूपान्तरण हुन्छ। जहाँ परिवारको खर्च चल्छ। जहाँ बचत हुन्छ। जहाँ ऋण–सापटी चल्छ। र जहाँ किनबेचसँगै सम्बन्ध पनि नवीकरण हुन्छ।

धनकुटाका पुराना हाटबजारको भीडमा यी महिलाहरू धेरै बोल्दैनन्। आफ्नो श्रमको हिसाब पनि राख्दैनन्। तर हरेक बिहीबार, बुधबार, शुक्रबार वा शनिबार उनीहरूले बोकेर ल्याएको डोको, डालो, तरकारी, फलफूल, दाल, कपडा र घरेलु उत्पादनले एउटा ठूलो सत्य बोलिरहेको हुन्छ । ग्रामीण अर्थतन्त्रको ठूलो हिस्सा महिलाको काँधमा छ। र त्यो अर्थतन्त्रको एउटा जीवन्त अनुहार हो धनकुटाका हाटबजार।

