
१७ असार ,धनकुटा ।डेङ्गी सङ्क्रमण फैलिन नदिन धनकुटामा हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय धनकुटाले डेङ्गी नियन्त्रणलाई प्राथमिकतामा राख्दै जिल्लाभरका स्थानीय तहमा नियमित अभियान सञ्चालन गर्ने जनाएको छ ।

अभियानको सुरुवात बुधबार धनकुटा सदरमुकाममा सचेतनामूलक र्यालीसहित गरिएको छ। भीमनारायण चोकदेखि बसपार्कसम्म निकालिएको र्यालीमार्फत डेङ्गी रोकथामका उपायबारे सर्वसाधारणलाई जानकारी दिइएको थियो। स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बञ्जाडेका अनुसार डेङ्गी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्र तोड्नु अभियानको मुख्य उद्देश्य हो। उनका अनुसार लामखुट्टे उड्नुअघि नै पानी जम्ने स्थानमा रहेका लार्भा र प्युपा नष्ट गर्न सके डेङ्गी सङ्क्रमण उल्लेख्य रूपमा घटाउन सकिन्छ। त्यसका लागि घर, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्ने भाँडा, टायर, गमला तथा अन्य स्थान नियमित रूपमा सफा गर्न आग्रह गरिएको छ।

स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा धनकुटामा हालसम्म ४२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी महालक्ष्मी नगरपालिका मा २५ जना संक्रमित भेटिएका छन्। त्यसपछि धनकुटा नगरपालिका मा ६, पाख्रिबास नगरपालिका मा ५ तथा साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिका मा ३–३ जनामा संक्रमण देखिएको छ। चौविसे गाउँपालिका र सहिदभूमि गाउँपालिका मा भने हालसम्म डेङ्गी संक्रमण पुष्टि भएको छैन। गत आर्थिक वर्षमा जिल्लाभर १ सय ७३ जनामा डेङ्गी देखिएको थियो।

कार्यक्रममा प्रमुख जिल्लम अधिकारी रुद्रादेवी शर्मा ले डेङ्गी नियन्त्रणका लागि प्रत्येक टोल र स्थानीय तहमा नियमित रूपमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उनले जनचेतना अभिवृद्धिसँगै जोखिमयुक्त स्थानको पहिचान, लामखुट्टेबाट बच्ने उपायको पालना तथा स्वास्थ्य संस्थालाई उपचारका लागि तयारी अवस्थामा राख्न आवश्यक रहेको बताइन्।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ ले पानी जम्ने स्थान नै लामखुट्टे उत्पादन हुने प्रमुख स्रोत भएकाले त्यस्ता स्थान सफा राख्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार डेङ्गी नियन्त्रणमा जनचेतना र सामुदायिक सहभागिता सबैभन्दा प्रभावकारी उपाय हो। सचेतना कार्यक्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालयका कर्मचारी, जिल्ला समन्वय समितिका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

