
११ जेठ,धनकुटा । धनकुटाको तल्लो टुँडिखेलमा जारी १८औँ शहिद भीमनारायण गोल्डकपमा विर्तामोड युनाइटेड क्लबले आफ्नो उपाधि रक्षा यात्रालाई थप मजबुत बनाएको छ। सोमबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विर्तामोडले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको विर्तामोडले पहिलो हाफमै अग्रता बनायो। खेलको ३३औँ मिनेटमा प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई सहज अवस्थामा पुर्याए। दोस्रो हाफमा पनि विर्तामोडले लय कायम राख्यो। ६७औँ मिनेटमा आशिष चापागाईंले गोल थपेपछि खेल विर्तामोडको पकडमा गएको देखिएको थियो। तर गाईघाटले हार सहजै स्वीकार गरेन। ७४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै खेललाई पुनः प्रतिस्पर्धात्मक बनाउने प्रयास गरे। एक गोलले उत्साहित गाईघाटले थप दबाब सिर्जना गर्न खोजिरहेका बेला त्यसको ठीक एक मिनेटपछि आशिष चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै विर्तामोडलाई ३–१ को सुरक्षित जित दिलाए। गाईघाटले खेलभर केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो। दुई गोलसहित टोलीको जितमा निर्णायक भूमिका खेलेका कप्तान आशिष चापागाईं खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान र भारतको जर्जियन फुटबल क्लबबीच पहिलो चरणको तेस्रो खेल हुनेछ। यसअघि सिराहाको सलहेश फुटबल क्लब सेमिफाइनल पुगिसकेको छ भने बुधबार बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो फुटबल क्लब ललितपुरबीच अन्तिम क्वार्टरफाइनल खेल हुने तालिका छ। जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। २०५५ सालमा स्थापना भएको यो गोल्डकप २०६३ सालपछि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। शहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिताले अघिल्ला वर्षहरूमा पूर्वी नेपालको महत्वपूर्ण फुटबलको पहिचान बनाउँदै गएको थियो । तर पछिल्लो समयमा यो प्रतियोगिताको साख खस्कीदै गएको प्रति खेलप्रेमीहरु चिन्तीत छन ।

